१० असार २०८३, बुधबार

महोत्तरीको उत्तरी भेगमा जंगली हात्तीको उपद्रो

माघ २६, २०८१
महोत्तरी
महोत्तरीको उत्तरी भेगमा जंगली हात्तीको उपद्रो
प्रतीकात्मक तस्वीर

महोत्तरी जिल्लाको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जंगली हात्तीले निरन्तर उपद्रो मच्चाइरहेका छन्। पछिल्ला तीन दिनयता पूर्व–पश्चिम राजमार्ग आसपासका वन नजिकका बस्तीमा हात्तीको आक्रमण बढ्दै गएको छ।

गौशाला र बर्दिबास नगरपालिकाका विभिन्न बस्तीमा समूहमा आएका जंगली हात्तीले मध्यरातपछि घर, गोठ, तथा खेतीबालीमा क्षति पुर्‍याएका छन्। बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वाका अनुसार, तीनवटा हात्तीको समूहले रातको समयमा बस्तीमा पसेर आतंक मच्चाइरहेको छ।

गौशाला–८ ढल्केबरमा बिहीबार राति मात्र हात्तीले पाँचदेखि सातवटा घर भत्काइदिएको छ। 

गज, ढोइ र छावासहितको हात्ती समूहले सागरनाथ वन विकास परियोजनाको प्लटसँग जोडिएका बस्तीमा उखु, केरा, कोबी, मकै, गहुँ लगायतका खेतीबाली नष्ट गरेको छ। स्थानीयका अनुसार, बिहानपख हात्ती बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमारा क्षेत्रतर्फ प्रवेश गरेका थिए।

गौशाला–८ ढल्केबरका स्थानीय मीन रहपालका अनुसार, हात्तीहरू मध्यरातपछि बस्तीमा पस्ने र बिहान चार बजेसम्मै वनक्षेत्र फर्किने गरेका छन्। गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीका अनुसार, पछिल्लो साताभित्रै हात्तीले १० बिघाभन्दा बढी क्षेत्रफलको खेती नष्ट गरिसकेको छ।

बर्सेनि बर्दिबास र गौशालाका बस्तीमा जंगली हात्तीको उपद्रो बढ्दै आए पनि समाधानका ठोस उपायहरू अपनाउन सकिएको छैन। गत वर्ष हात्तीले बर्दिबास–३ पाटुमा दुईवटा घर भत्काएर ठूलो क्षति पुर्‍याएको थियो। त्यस्तै, पर्साहीधाप र रजबास क्षेत्रका सातवटा घर हात्तीको आक्रमणमा परेका थिए।

यसपालि महोत्तरीमा प्रवेश गरेका हात्तीहरू सर्लाहीतिरबाट आएका हुन्।  एक साताअघि सर्लाहीका विभिन्न बस्तीमा पनि उनीहरूले खेतीबाली तहसनहस गरेका थिए। 

सिन्धुलीतिरबाट चुरे पार गर्दै आउने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर क्षेत्रसम्म उपद्रो मच्चाउने गरेका छन्। पाँच वर्षअघि हात्तीले ढल्केबरमै एक घर भत्काएर स्थानीयलाई सुँडले तानेर हत्या गरेको घटनासमेत भएको थियो।

वन्यजन्तुविज्ञहरूका अनुसार, जंगली हात्तीहरू आफ्नो परम्परागत मार्ग (हात्ती करिडोर) अनुरूप नै हिँड्ने गर्छन्। तर, ती मार्गहरू मानव बस्तीमा परिणत हुँदै जाँदा हात्ती–मानव द्वन्द्व बढ्दै गएको छ। हात्तीहरू पुस्तान्तर रूपमा एकअर्कोको मार्ग पछ्याउने हुँदा समस्या दीर्घकालीन रूपमा देखापरेको वन्यजन्तुविज्ञ हेमन्तप्रसाद साह बताउँछन्।

बर्दिबास–३ का वडाध्यक्ष विराटकुमार विष्टले वन विभाग तथा वन सुरक्षा निकायलाई हात्ती आतंकको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन्।

यसैबीच, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार, हात्ती धपाउने कार्यमा वन सुरक्षा गस्तीलाई सचेत रहन निर्देशन दिइएको छ। साथै, स्थानीयबासीहरूसँग सहकार्य गर्दै हात्ती नियन्त्रण गर्नका लागि आवश्यक रणनीति अवलम्बन गरिने बताइएको छ। 

यसबारे नजिकैको पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई समेत जानकारी गराइएको मिश्रले बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्