
नेपाली कांग्रेसका नेता एनपी साउँद सभापति शेरबहादुर देउवा क्याम्पबाट टाढिँदै गएका छन् । लामो समय सभापति देउवानिकट रहेर राजनीति गरेका साउँद पछिल्लो समय खुलेरै डा. शेखर कोइरालानिकट देखिन थालेका हुन् ।
औपचारिक रूपमा साउँदले गुट परिवर्तन गरेको घोषणा त गरेका छैनन् तर, पछिल्लोपटक परराष्ट्रमन्त्रीबाट हटेयता देउवा टिममा कम, शेखर टिममा बढी ‘इंगेज’ भइरहेका छन् ।
देउवासँग असन्तुष्ट बनिरहेका केन्द्रीय सदस्यहरू डा. डिला संग्रौलासहितका केही नेतालाई लिएर साउँद आफ्नो स्थिति बुझ्न केही दिन अगाडि पश्चिम नेपालका जिल्ला पुगेका थिए ।
विधानत: १५औं महाधिवेशनमा सभापतिमा देउवाको दाबी नरहने भएपछि एनपीले शेखर टिमबाटै आफ्नो राजनीतिक भविष्य बलियो हुने देखेको नेताहरू बताउँछन् । यसैले सरकारविरोधी कित्तामा साउँद शेखरकै लाइनमा देखिन्छन् । सरकारका काम गराइ, अध्यादेशको आलोचना, आफ्नो स्थिति बुझ्न जिल्ला दौडाहा र शेखरसँग पटकपटक मञ्च सेयर गर्दै साउँदले देउवाबाट शेखरतिर सरेको प्रष्ट सन्देश दिइसकेका छन् ।
शेखर निकटका एक केन्द्रीय सदस्यले साउँद आफ्नो टिममा आएको पुष्टि गरे । ‘हामीले भन्नेभन्दा पनि शेखर दाइको बोलीमा साउँदले लोली मिलाउनुभएको देखिन्छ’, ती केन्द्रीय सदस्यले भने, ‘अध्यादेशको विरोध, समयमा १५औं महाधिवेशन गराउने कुरा, दुई तिहाइको सरकारले नतिजा नदिएको कुरामा शेखर र एनपीको कुरा एउटै हुनुले धेरै संकेत गर्दैन र ?’
सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा शेखरभन्दा एनपी सरकारका काम गराइ र गठबन्धनसँग बढी रुष्ट सुनिए । उनीसँगै मञ्च सेयर गरेका ती नेताका अनुसार टिम फेर्न लागेका नेताहरूले भक्तपुरको त्यो कार्यक्रममा झन् कडा भाषण गरेका थिए ।
‘हाम्रो मूल्य पद्धति दुई दलीय होइन, बहुदलीय शासन पद्धति हो । हाम्रो मूल्य पद्धति भनेको राष्ट्रपतीय होइन, संसदीय शासन पद्धति हो । हाम्रो मूल्य पद्धति अध्यादेशमार्फत् मात्रै शासन चलाउने होइन । दुई अधवेशनको बीचमा अत्यन्तै जरुरी परे मात्रै अध्यादेश ल्याउने हो’, साउँदले कार्यक्रममा भनेका थिए, ‘तर, सामान्य अवस्थामा कानून निर्माणको थलो संसद्बाटै कानून ल्याउनुपर्छ । जिम्मेवारीमा भएका साथीहरूले आर्थिक प्रगति गर्न, सुशासन ल्याउन अध्योदश भनिएको हौं भन्नुहुन्छ । तर, यस्तोका लागि कानून बनाउँदा राम्रो हुन्छ ।’
साउँदले ‘दुई तिहाइ मत छ, २०८४ सम्म टिकिरहन्छौं’ भनेर जनताको कुरा कम सुन्ने मानसिकता त्याग्न पनि संस्थापन पक्षका नेताहरूलाई आग्रह गरे ।
एनपी निकट अछामका पूर्व सभापति गोविन्दबहादुर शाहले पनि कोइराला, देउवा हुँदै कांग्रेस नेतृत्त्व अब फेरि कोइरालामा जाने बताएका थिए । ‘कोइरालाबाट कांग्रेस नेतृत्त्व देउवामा आयो । देउवाबाट कोइरालामा जान्छ । किनकी यिनीहरूले अन्याय गर्दैनन्’, भक्तपुरको कार्यक्रममा शाहले भनेका थिए ।
उनीमात्रै होइन, देउवा समूहमा रहेका दुर्लभ थापा, रामसरोज यादवले पनि आफूहरूलाई खुशी पार्ने गरी बोलेको शेखर पक्षको दाबी छ ।
‘एनपीको मात्रै कुरा छैन । धेरै नेता संवादमा छन् । कोही खुलेका छन्, कोही खुल्न बाँकी छ । धेरैलाई मिलाएर जानुपर्छ भन्नेमा शेखर दाइ हुनुहुन्छ’, शेखर निकटका ती केन्द्रीय सदस्यले भने, ‘महामन्त्री गगन सँगै हुँदा पनि ४० प्रतिशत मात्रै हो आएको हो । यसैले अरु धेरैलाई समेटेर जाने प्रयत्न भइरहेको छ ।’
देउवा समूहमा रहेर अवसर नपाएकाहरू सम्पर्कमा आइरहेको तीन नेताले बताए । ‘पार्टीमा अवसर नपाएकाहरूले गाउँपालिका, नगरपालिकाको टिकट मात्रै होइन, पार्टीमा कहाँ जाँदा उचित हिस्सा पाइन्छ त्यो हेर्ने हो’, ती सदस्यले भने, ‘कतिलाई पदाधिकारी, मन्त्री, केन्द्रीय सदस्य नबनाइएकोमा समेत असन्तुष्टि छ । शेखर दाइले सबैलाई न्याय गर्छु भनेपछि उहाँसँग आउन खोज्ने धेरै हुनुहुन्छ ।’
डा. गोविन्दराज पोखरेल, विश्लेषक पुरञ्जन आचार्यसहितका नेतासँग मिलेर महामन्त्री गगन थापासँग पुनः सम्बन्ध बनाउने तयारीमा शेखर लागेको समेत ती नेताले जानकारी दिए ।
‘गगन प्रभाव पार्ने र एउटा जिम्मेवार नेता हो । हिजो उहाँ यही टिमबाट लडेर जित्नुभएको हो’, ती केन्द्रीय सदस्य भन्छन्, ‘देउवाबाट एनपी आउने, बालकृष्ण खाँण र मोहन बस्नेतहरू आउन खोज्दा गगनजी असन्तुष्ट हुनुपर्ने कारण छैन ।’

एनपी मात्रै नभएर देउवासमेत सहभागी कार्यक्रममा दाङमा बालकृष्ण खाँणले शेखरको चर्चा गरेको अर्का केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बताए ।
‘कुनै समय देउवाजीका खम्बा नेता बालकृष्ण खाँण शेखर दाइसँग नियमित सम्पर्कमा हुनुहुन्छ । उहाँ जेल पर्दा सबैभन्दा बढी भेट्न जानेमा शेखर दाइ हुनुहुन्छ’, एक केन्द्रीय सदस्य भन्छन्, ‘देउवासमेत दाङ पुगेको बेला खाँण दाइले शेखर पनि कृष्णप्रसाद कोइरालाको नाति हो भनेपछि कांग्रेसमा कसरी नेताहरूले ध्रुवीकरणका प्रयास गरिरहेका छन् भन्ने बुझिन्छ । यसको आकार अझै बढ्दै जान्छ ।’
लेखकसँगको टक्करबाट समूहसँगै टक्कर गर्ने दाउमा साउँद
साउँद र गृहमन्त्री रमेश लेखक दुवै देउवा टिमका बफादार नेता हुन् । दुवै मृदुभाषी छन् । दुवैले एउटै जिल्ला कञ्चनपुरबाट प्रतिनिधित्व गर्छन् । यी मिल्ने तीन साझा विशेषताबाहेक दुईबीच हरेक सवालमा कटाक्ष र चर्को प्रतिस्पर्धा हुने गरेको छ ।
वकालत पृष्ठभूमि हुँदै लेखक कांग्रेसको राजनीतिमा आएका नेता हुन् । साउँद देउवा टिमका मध्यमार्गी र व्यावहारिक नेता मानिन्छन् । लेखकलाई भने पार्टीको, नीति, विचार संगठनका सूत्र मानिन्छ । लेखक व्यवस्थापकीय क्षमता भएका, बढी प्राविधिक, सन्तुलन मिलाउन सक्ने र लागेको काममा नतिजा निकाल्ने खुबीका लागि चर्चित छन् ।
साउँद भने नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरे । साउँद २०४८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए । नम्रता नै साउँदको सबैभन्दा ठूलो गुण मानिन्छ ।
सुदूरपश्चिमा प्रभाव पार्ने यी दुवै नेतालाई देउवाले सँगै र आलोपालो अवसर दिँदै आएका छन् । तर, पटकपटकको अवसर पाए पनि दुवैले प्रतिस्पर्धा गर्न छोडेका छैनन् । यसैले एउटा इन्डबाट साउँदले देउवा क्याम्प छोड्ने घुर्की लगाएका छन् ।
२०५६ सालमा साउँदले कञ्चनपुर-२ र लेखकले कञ्चनपुर-३ बाट चुनाव जिते । २०६४ सालको पहिलो संविधानसभामा कञ्चनपुरबाट साउँद र लेखक दुवैले टिकट पाएनन् । सभापति देउवा कञ्चनपुरबाट पनि उठेपछि उनीहरू उम्मेदवार बन्नबाट रोकिएका थिए ।
एउटा देउवा उठ्दा अर्को एउटामा साउँद वा लेखकमध्ये एक जनालाई अगाडि सार्न सक्थे । तर, एउटालाई दिँदा अर्को रिसाउने भएपछि देउवाले दुवैलाई टिकट दिएनन् । तर, २०७० मा साउँद फेरि २ र लेखक ३ बाट विजयी भए । तर, फेरि २०७४ मा टिकट पाए पनि दुवै पराजित हुन पुगेका थिए । २०७९ एनपी २ बाट र लेखक ३ बाट निर्वाचित भए ।
यसअघि भौतिक पूर्वाधारमन्त्री भएका लेखक अहिले सरकारमा गृहमन्त्री छन् । केही पहिले सिंचाइमन्त्री भएका साउँद यसअघि प्रचण्ड सरकारमा परराष्ट्रमन्त्री भएका थिए । केन्द्रमा दुवै केन्द्रीय सदस्यभन्दा माथि पुग्न सकेका छैनन् । साउँदले १४औं महाधिवेशनमा पदाधिकारी खोजेका थिए । तर, पाएनन् ।
यद्यपि, जिल्लादेखि प्रतिस्पर्धा, देउवालाई कसले खुशी पार्ने र उनको निकट हुने भन्ने प्रतिस्पर्धा यी दुई नेताबीच निरन्तर चल्दै आएको छ । अहिलेसम्म देउवा गुटभित्रै रहेर सुदूरपश्चिमा दुवैले आफ्नो लागि स्पेश बनाउन खोजेका छन् । देश संघीयतमा गएपछि प्रदेशमा वर्चस्व स्थापित गर्ने र स्थानीय तहमा उम्मेदवार चयनमा समेत दुवैले प्रतिस्पर्धा गर्दै आए । १४औं महाधिवेशनमा कञ्चपुरको सभापतिमा लेखक निकटका नेता पदम बोगटी जितेका थिए ।
अब केन्द्रमा देउवासँग लाग्दा पदाधिकारी तहको अवसर पाउने सम्भावना कम देखिएपछि साउँद समूह परिवर्तन गर्ने गरी अगाडि बढेको बताइन्छ । एउटै टिममा रहेर भन्दा फरक टिममा रहँदा सुदूरपश्चिममा वर्चस्व स्थापित गर्न सकिनेमा साउँद रहेको नेताहरू बताउँछन् ।
‘उहाँले वर्षौंसम्म एउटै टिममा रहेर पार्टी नेतृत्त्वलाई सहयोग गर्दै आउनुभयो । यसबीचमा लेखकसँग टक्कर पर्नुमा सभापतिले उनलाई अलि बढी च्यापेको बुझाइ साउँदमा देखिन्छ । यो साँचो पनि हो’, उनलाई नजिकबाट चिन्ने एक नेता भन्छन्, ‘यसैले एउटै टिमबाट होइन, एउटा समूहकै प्रभावशाली नेता बनौं भनेर लाग्न खोज्नुभएको हुन सक्छ । कांग्रेसमा परम्परागत गुट नहुने भएपछि एनपी साउँद, बालकृष्ण खाँण र मोहन बस्नेतहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’
देउवासँग भए पनि साउँदले सधैं दोहोरो भूमिका देखाएको आरोप भने खेप्ने गर्छन् । ‘हुनलाई देउवातिर हुन् । तर, ०५६ सालदेखि नै उनको भूमिका दोहोरो हो । पार्टी फुट्दा पनि साउँद र रामहरि खतिवडा दुवैतिर देखिन्थे’, कांग्रेसका एक नेता भन्छन्, ‘आजसम्म पनि दुवै नेताको पहिचान उस्तै छ ।’
नेविसंघमा बलियो प्रभाव र सुदूरपश्चिममा पनि उत्तिकै पकड भएकोले शेखरले एनपीतिर आँखा लगाउँदै आएका थिए । यसैले देउवा समूहभित्रैको असन्तुष्टिमा खेल्ने र आफूतिर तानेर पदाधिकारीको उम्मेदवार बनाउने आश्वासन दिएको नेताहरू दाबी गर्छन् । एनपीलाई ल्याउँदा देउवाको प्रभाव रहेको सुदूरपश्चिमको ठूलो मत आफूतिर आउने शेखरको विश्लेषण छ ।
पछिल्लो समय नैनसिंह महरलाई देउवाले च्यापेको र उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको डरसमेत एनपीलाई परेको टिप्पणी हुने गर्छ । पत्रकार विन्दुकान्त घिमिरे राजनीतिमा साउँद सिनियिर भए पनि लेखकमा व्यवस्थापकीय क्षमता बढी भएको बताउँछन् ।
‘नेविसंघमा बालकृष्ण खाँणपछि एनपीको देशव्यापी पकड राम्रो छ । साउँद ०४८ देखि ०५४ सम्म महत्त्वपूर्ण समयमा नेविसंघको अध्यक्ष पनि भए । उनी लेखकभन्दा सिनियर पनि हुन्’, घिमिरे भन्छन्, ‘तर, व्यवस्थापकीय क्षमता लेखकको बढी छ । यसैले शेरबहादुरले लेखकलाई अलि बढी च्याप्दा साउँद असन्तुष्ट बनेका हुन् ।’
१४औं महाधिवेशनमा साउँदले महामन्त्रीमा चुनाव लड्न खोजेका थिए । तर, देउवाले डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाउँदा दुवैजना पराजित हुन पुगे । यसैले साउँदले फेरि पनि पदाधिकारी खोजेको चर्चा छ ।
‘अघिल्लोपटक नै साउँदले पदाधिकारी खोजेका थिए । नपाएपछि यसपटक देउवासँग बार्गेनिङ पनि होला’, घिमिरे भन्छन्, ‘ठूलो पदमा लड्न पाए सकेसम्म देउवासँगै रहने, नभए कोइरालाले दिए उतै जाने गरी साउँदले आफूलाई तयार गरेका हुन सक्छन् ।’
कसैलाई रोक्ने पक्षमा छैनन् देउवा
१५औं महाधिवेशनमा सभापतिमा नउठ्ने भएपछि सभापति देउवाले कुनै नेता विशेषलाई रोक्नका लागि प्रयत्न गर्ने मानसिकता नबनाएको नेताहरू दाबी गर्छन् । राजनीतिक उत्तरार्द्धमा गुटको विरासत बिसाउनेभन्दा चुपचाप बस्ने स्थितिमा देउवा पुग्ने चर्चा कांग्रेसभित्र छ ।
‘अघिपछि आलोचना भए पनि गिरिजाले राजनीतिक उत्तरार्द्धलाई जीवन्त बनाउनुभयो । यसैले देउवाले पनि आफू हट्दै गर्दा गुटबन्दीकै विजारोपण गर्ने जस्तो गर्नुभएको छैन’, एक नेता भन्छन्, ‘उहाँले किसुनजीबाट समूहको नाममा एउटा विरासत पाउनुभएको हो । श्रीमती आरजुको एउटा चिन्ता हुन सक्छ । तर, जित्न सक्ने कुनै नेताप्रति सद्भाव देखाउनेभन्दा उहाँले गुटलाई अब प्रवर्द्धन गर्नु हुँदैन ।’