०३ असार २०८३, बुधबार
सन्दर्भ : फागुन १

'जनयुद्ध' शब्दसँग केपी ओलीहरू किन तर्सिन्छन् ?

फागुन १, २०८१
काठमाडौं
'जनयुद्ध' शब्दसँग केपी ओलीहरू किन तर्सिन्छन् ?

भैंसी जति भागे पनि अन्तिममा फर्किने भनेको गोठमै हो। खच्चड चढेर सगरमाथा आरोहण गरेको धाक दिने रामबहादुर थापा नाम गरेका मनुष्यले जनयुद्धलाई हिंसासँग तुलना गरेर एकथान चाकडी बजाएछन् । खासमा, यिनको उपनाम ‘बादल’ नभई ‘बकम्फुसे’ हुनुपर्ने हो । मर्न नडराएको मान्छे आज जेल जान डराएर एमालेको शरणमा परेको छ । तर केही छैन, मगरको छोरा भएर यत्तिको बाठो हुनु पनि पर्दछ ।

आफ्नो छोरो प्रतीकलाई उनले अझैसम्म पनि भूमिगत राखेका छन्। दीपेश निस्किए, राहुल निस्किए। तर प्रतीक निस्किएनन्। फरार छोराप्रतिको मायाले गर्दा यिनले शान्तिको गीत गाएका हुन्। किनभने फरार अभियुक्तहरूको सूची प्रहरीसँग होइन एमालेसँग हुन्छ। भाँडा पसलेलाई बलात्कारको मुद्दा लगाएर हनी ट्र्यापमा पारेजस्तै एमालेले यिनलाई पनि हनी ट्र्यापमा पारेको हो ।

मतपेटिकामा बन्चरो हानेर प्रचण्डलाई मार्न धरापसम्म थापेका यिनै बकम्फुसेहरूलाई प्रचण्डले फेरि फर्काएर रक्षामन्त्री बनाए। जो रक्षामन्त्री भयो उसले नै आज सबैभन्दा धेरै असुरक्षित महसुस गरेको छ र आफ्नो सुरक्षाका लागि एमालेलाई रक्षा कवच बनाउनु परेको छ।

यिनले सुन काण्डको कहिल्यै विरोध गरेनन्, भुटानी शरणार्थी काण्डको कहिल्यै विरोध गरेनन्, ताप्लेजुंगमा राई लिम्बूमाथि गोली प्रहार भयो। त्यसको पनि विरोध गरेनन्। तर आफैं सहभागी 'जनयुद्ध'को किन विरोध गर्छन् ?

टिकटकप्रेमी प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी पार्न अहिले 'छोराहरू'को लिगलिगे प्रतिस्पर्धा चलिरहेको छ। तर 'बा'लाई खुसी पार्न नाइँटो चुडिने गरी माओवादीलाई गाली गरेर मात्रै पुग्दैन। बालाई खुसी पार्न त ‘शोले’ फिल्मकी बसन्तीजस्तै सिसाका टुक्रामाथि पनि नाच्न तयार हुनुपर्छ। जसरी योगेश भट्टराई नाचेका छन्, जसरी लेखराज भट्ट नाचेका छन्, जसरी रघुजी पन्तहरू नाचेका छन्। अनि ठूलो स्वरमा गीत पनि गाउनुपर्छ, ‘जब तक है जान, जानेजहाँ, मैं नाचूंगी।’

बालाई खुसी पार्न प्रचण्डको खिसीटिउरी गरेर मात्रै पुग्दैन। बालाई खुसी पार्न त पेटभरि खसीको मासु राखेर भेजिटेरियन हुनुको फाइदा बताउनु पर्छ। लोडसेडिङ हटाएको तपाईंले हो भन्दिनु पर्छ।

बालाई खुसी पार्न राजा हटाएको पनि तपाईंले नै हो भन्दिनु पर्छ। यसपटक त नेपाल भ्रष्टाचार हुने देशको सूचीमा नै परेन भन्दिनु पर्छ र दिल निशानी मगर नाम गरेको केटोले अबदेखि लोकान्तरमा लेख्दैन अरे भन्दिनु पर्छ।

जनयुद्धलाई'बा'अर्थात् खड्गप्रसाद ओली र तिनका ठिमाहाहरूले लालछाप र तोक लगाएर वैधानिकता दिनुपर्छ भन्ने होइन। कम्तिमा जनयुद्धको प्रमाणपत्र बाले वितरण गर्नु पर्दैन। तर उखान टुक्कामा अभ्यस्त छु भन्दैमा बाले प्रधानमन्त्रीको कुर्सीमा बसेर जनयुद्धको खिल्ली उडाउन पनि मिल्दैन।

भस्मासुरले जसको टाउकोमा हात राख्यो त्यही भष्म हुने वरदान शिवबाट प्राप्त गरेको थियो। तर भस्मासुरले त शिवकै टाउकोमा हात राख्न खोजेको थियो । माओवादी आन्दोलनले ल्याएको गणतान्त्रिक वरदान प्राप्त गरेर आज माओवादीकै टाउकोमा हात राख्न खोज्नेहरू चण्डीको रौँ ठाडो बनाएर निस्किएका छन्। तर माओवादी 'Rising from the ashes' (अस्तुबाट उदाएको) र Creating an illusion for self-defense' हो । यतिबेला प्रचण्डले पनि भगवान शिवलेजस्तै मोहिनीको रूप धारण गर्नु पर्ने बेला आएको छ।

आफ्नो जन्मदिनमा नेपालको नक्साको केक बनाएर काट्ने बालाई माघ महिनाभरि हनहनी ज्वरो आउँछ। किनकि फागुन १ गते त जनयुद्ध दिवस आइहाल्छ। बालाई धान दिवस मन पर्छ, किनकि त्यो दिन उहाँले हिलोमा गाडिएर धान रोप्नुहुन्छ। बालाई योग दिवस मन पर्छ, किनकि त्यो दिन उहाँले अटेरी खालको योग गर्नुहुन्छ। तर, बालाई जनयुद्ध दिवस चाहिँ फिटिक्कै मन पर्दैन।

किनकि बा भनेको नेपालको लागि महात्मा गान्धी बराबरका शान्तिप्रेमी अगुवा हुनुहुन्छ। बाले विसं. २०२७ सालतिर झापा काण्ड घटाउनुभएको थिएन। बा नक्सलवादी आन्दोलनबाट प्रेरित हुनुभएको पनि होइन। अनि बा १४ वर्ष जेलमा बस्नुभएको पनि थिएन। अनि बा भनेको लिटिल बुद्धजस्तो ध्यानी, ज्ञानी र त्यागी हुनुहुन्छ। सबै कुरा त्याग गर्न सक्ने बाले प्रधानमन्त्री पद मात्रै त्याग गर्न सक्नुहुन्न। अरू सबै त्याग्नुहुन्छ। बा कतिसम्म धर्मात्मा भने आफूलाई उपचार गराएर जीवनदान दिने साथी वामदेव गौतमलाई पनि त्यागिदिनुहुन्छ।

यस्ता त्यागी बाले जनयुद्धलाई अवलम्बन गर्न सक्ने कुरा नै आएन। हुन त जनयुद्धलाई 'बा' अर्थात् खड्गप्रसाद ओली र तिनका ठिमाहाहरूले लाहाछाप र तोक लगाएर वैधानिकता दिनुपर्छ भन्ने होइन। कम्तिमा जनयुद्धको प्रमाणपत्र बाले वितरण गर्नु पर्दैन। तर उखान टुक्कामा अभ्यस्त छु भन्दैमा बाले प्रधानमन्त्रीको कुर्सीमा बसेर जनयुद्धको खिल्ली उडाउन मिल्दैन। यो संविधान कसरी लेखिएको हो ? मुलुकमा गणतन्त्र कसरी आयो ? समावेशी र समानताको निम्ति किन लडिएको हो ? जनताले किन प्रतिरोध गर्छन्‌जस्ता आधारभूत कुरा देशको प्रधानमन्त्रीले बुझ्दैन र ग्रहण गर्न सक्दैन भने त्यसले मानव सभ्यता, विश्व इतिहास र राजनीति केही पनि बुझेको हुँदैन, पढेको पनि हुँदैन र देखेको पनि हुँदैन।

१२ वर्षसम्म चलेको जनयुद्धमा १७ हजार मान्छे मारिएका थिए। तर यसबारे कुनै दीपकराज गिरीहरूले फिल्म बनाएका छैनन्, कुनै अमर न्यौपानेहरूले किताब लेखेका छैनन्। नेपाली इतिहासमा भण्डारखाल पर्वबारे पढ्न पाइन्छ, तर दोरम्बा हत्याकाण्डबारे पढ्न मिल्दैन। जंगबहादुर राणाको वीरता पढ्न पाइन्छ तर चुनु गुरुङहरूको वीरता लुकाइन्छ।

यसरी तत्कालीन शामन्ती शासनविरुद्ध उत्पीडित जनताहरूले गरेको संघर्षलाई इतिहासबाट नै नामेट पार्न नेपाली भित्ते पात्रोबाट फागुन १ गतेलाई नै केरनेट गर्न  खोजिएको छ । कोही कसैलाई लागेको होला बाले जनताको भलाइका लागि संविधान संशोधन गर्दै हुनुहुन्छ। तर त्यसो होइन। वास्तवमा, बाले जनताले रगत बगाएर स्थापित गराएका अधिकारसम्बन्धी शब्दहरू संविधानको पन्नाबाट नै हटाएर जुठेल्नामा मिल्काउन खोज्दै हुनुहुन्छ।

हो, प्रेम दिवस सबैले मनाउँदैनन्। उमेर समूहअनुसार रुचिको विषय होला। तर प्रेम दिवसको कुनै इतिहास र अस्तित्व नै छैन भन्न त मिल्दैन। त्यस्तै, जनयुद्ध दिवस पनि सबैले मनाउनुपर्छ भन्ने जरुरी छैन। तर जनयुद्ध भएको थियो, नेपालको राजनीतिक घटनाक्रममा जनयुद्धले प्रभाव पारेको थियो र युग परिवर्तनको दिशामा जनयुद्धले महत्वपूर्ण भूमिका खेलेको थियो भन्ने कसैले नकार्न सक्दैन।

यो कुनै जनयुद्धको दिवसभन्दा पनि अस्तित्वको दिवस हो। माओवादी पार्टीको कुरा हैन, घटनाक्रमको कुरा हो। माओवादीले त आफ्नो पार्टीको नाम बदल्न सक्छ। बदलेको पनि हो। चुनाव चिन्ह बदल्न सक्छ। मतपत्र र विचारहरू बदल्न सक्छ। तर ०५२ सालदेखि ०६३ साल सम्मको राजनीतिक घटनाक्रमलाई उसले चाहेर पनि बदल्न सक्दैन। यदि विगतको चिजका कुनै अस्तित्व हुँदैन भने भाद्र/आश्विन महिनामा १६ दिनसम्म पितृहरूको सम्झनामा श्राद्ध, तर्पण र दान किन गर्ने? दिवंगत भएका आफन्तहरूको सम्झनामा गाईजात्रा किन निकाल्ने?

हिजो राणा शासन अन्त्य हुँदा सबै नेपाली लडेका थिएनन्। कोही त राणा शासनको पक्षमा पनि थिए। हिजो पंचायती शासन अन्त्य हुँदा सबै नेपाली पंचायती शासनविरुद्ध लडेका थिएनन्, कोही त पंचेहरूको पक्षमा पनि थिए। त्यसरी नै राजतन्त्रको विरुद्धमा सबै नेपाली लडेका थिएनन्, कोही त राजतन्त्रको पक्षमा पनि थिए। पक्ष/विपक्ष हुन पाइयो। तर राणा शासन नै हटेको छैन भन्न पाइएन, पंचायतविरुद्ध आन्दोलन भएकै थिएन भन्न मिल्दैन, राजतन्त्रविरुद्ध जनयुद्ध भएकै थिएन भन्न सुहाउँदैन।

जनयुद्ध शब्दसँग धेरै मनुष्यहरू तर्सिएको देखिन्छ। तिनीहरू भ्रष्टाचार शब्दसँग तर्सिन्नन्। तिनीहरू बलात्कार शब्दसँग तर्सिन्नन्। तिनीहरू कमिशन शब्दसँग तर्सिन्नन्। तिनीहरू बोरोजगार शब्दसँग तर्सिन्नन्। तिनीहरू बाढी, पहिरो, रोग, बिमार, अपमान, अत्याचार र विभेद कुनै पनि शब्दसँग पनि तर्सिन्नन्। तर जनयुद्ध शब्द सुन्दा भने ज्वरो आउँछ ।

बा, अर्थात् खड्गप्रसाद ओली पनि जनयुद्ध शब्दसँग तर्सिन्छन्। किनकि बा चाहन्थे- 'मभन्दा ठूलो नेता नेपालमा कोही नहोस्। मभन्दा जान्ने नेता नेपालमा कीही नबाँचोस् ! मभन्दा सक्षम नेता नेपालमा कोही नजन्मियोस्।' तर जनयुद्धले प्रचण्डलाई बाभन्दा ठूलो नेता, बाभन्दा जान्ने नेता र बाभन्दा सक्षम नेता बनाई दियो।

तर्सिने कुरा पनि अचम्मकै हुँदो रहेछ। म बाटोमा कतै गोरु देख्दा तर्सिन्छु। गोरु देख्दा मात्रै होइन, 'गोरु' शब्द सुन्दा पनि तर्सिन्छु। यो लेख्दा पनि तर्सिएको महसुस गरिरहेको छु। सानो छँदा मैले हली बनेर गोरु जोत्ने प्रयास गरेको थिएँ। तर अन्त्यमा गोरुले नै मलाई जोत्यो। मैले गोरु लघार्नु पर्ने थियो, तर गोरुले नै मलाई सयौं मिटर लघार्‍यो। गोरुको पुच्छरमा हान्नु हुँदैन रहेछ—त्यही मेरो गल्ती भयो। गोरुले पनि लात्ती हान्छ भन्ने कुरा त्यही दिनदेखि थाहा पाएँ। जसरी म 'गोरु' शब्दसँग तर्सिन्छु, 'जनयुद्ध' शब्दसँग तर्सिनेहरूको भोगाइ पनि मेरो गोरु काण्डजस्तै हुनुपर्छ।

नेपालमा युद्ध किन भएको थियो भनेर नबुझेका सामान्य युवाहरूले पनि अब धेरै बुझ्न थालेका छन्। प्रहरी कुट्नेहरूलाई प्रहरीले नै समात्दैन, तर सडकबाट जनताको पीडा उठाउनेहरूलाई भने हतकडी लगाइन्छ। तर, खुशीको कुरा के छ भने यो सबै दृश्य 'जेन जेड जेनेरेशन' (Gen Z Generation) को आँखाले देखिरहेको छ।

नेताहरू आफू मुखमा आएको बोल्छन्, तर जनता धेरै बोल्यो भनेर सामाजिक सञ्जाल नियन्त्रण गर्न खोज्छन्। यो पनि खुशीको नै कुरा हो, किनकि बोल्न र लेख्न त हिजो पनि पाइन्थ्यो भनेर परिवर्तनलाई सराप्नेहरू आज सरकारी दफ्तरका हाकिमहरूको आलोचना गर्दा साइबर अपराधको अभियोगमा थुनिएका छन्।

झन् 'रवि' नाम गरेका भगवानमाथि चरम ज्यादती भएपछि यिनीहरूले शासकहरूको प्रवृत्ति अलिकति भए पनि बुझ्न पाएका छन्। अब त निलो क्रान्तिकारीवालाहरूले पनि बुझेका होलान्, अहिले त यस्तो त्राहिमाम छ भने पचासको दशकमा कस्तो थियो होला ? किनकी, आज देशको बागडोर शेरबहादुर र केपीको हातमा छ र, ३० वर्ष अगाडि देशमा प्रचण्डपथको जन्म हुँदा पनि देशको सम्पूर्ण प्रशासनतन्त्र यिनै शेरबहादुर र केपीहरूकै हातमा थियो। प्रचण्डपथले के गर्‍यो इतिहासमा समीक्षाको विषय होला, तर शासकहरूले पेल्न खोज्दा जनता जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा हातमा लालपुर्जा बोकेर कुर्लिनेहरू र दिनेश त्रिपाठी कुट्नेहरूको मजेत्रोजस्तो अनुहार हेर्दा नै थाहा हुन्छ।

मानिसहरू भन्छन्, नेपालमा युद्ध छैन। तर आज पनि प्रत्येक नेपाली जनताको दिमागमा युद्ध छ। युद्ध केवल हतियार समाएर मात्रै हुँदैन। हाँसी-हाँसी सेल्फी खिचिरहेका मान्छेहरूको दिमागमा पनि युद्ध हुन सक्छ। साउदी जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएको युवाको दिमागमा युद्ध छ। आफूले पढेको शैक्षिक योग्यताको प्रमाणपत्र बाकसमा थन्क्याएका बेरोजगार विद्यार्थीहरूको दिमागमा युद्ध छ। दिल्लीको रात्रिकालीन व्यवसायमा अपमान झेलिरहेका नेपाली चेलीबेटीहरूको दिमागमा युद्ध छ। आफ्नै बारीमा फलेको कृषिजन्य सामग्रीले बजार नपाएका किसानहरूको दिमागमा पनि युद्ध छ। फरक यत्ति हो, यिनीहरूको हातमा कसैले एक-एक थान हतियार थमाउने आँट गरेको छैन।

हतियार उठाउनु मात्रै जनयुद्ध होइन। 'नेतालाई लखेट्नुपर्छ' भन्नु पनि एक प्रकारको जनयुद्ध नै हो। तपाईंहरू बाटोमा गएर खुला सर्वेक्षण गर्नुहोस्, प्रायः सबैले 'नेतालाई लखेट्नुपर्छ' भन्छन्। अरू त अरू, ५-७ वर्षका बालबालिकासमेत लखेट्नुपर्छ नै भन्छन्। हो, कसैलाई लखेट्नुपर्छ भन्नु अलोकतान्त्रिक कुरा होला, तर यो पनि युद्धको मानसिकताभन्दा कमचाहिँ होइन। किनकि संसारका सबै युद्धहरू पहिले लखेट्ने कामबाटै शुरू हुन्छन्। जनयुद्धमा १७ हजार मान्छे मारिएका थिए। तर त्यसयता हजारौं शवको बाकस अरबबाट आइपुग्यो। नेपाली जनतालाई भोक, शोक र रोगमा पारेर मार्नु पनि एक प्रकारले गोली हानेर मारे बराबर हो। कतारमा खेलकुद मैदान बनाउन गएका हजारौं नेपाली अंगभंग भए, केही मरे। त्यो पनि नेपाली बेरोजगार युवाहरूले लडेको जीवन-मरणको युद्ध नै थियो।

नेपालमा मरेका मान्छेबाहेक अरू कसैलाई शान्ति छैन। त्यसैले होला, कोही मरेको खबर सुन्दा हामी 'चिर शान्तिको कामना' गर्छौं। मरेपछि मात्रै शान्ति पाइने हाम्रो भाग्य अचानक लेखिएको होइन। राज्यले हामीलाई जिउँदै मरेसमानको व्यवहार गरेको छ। तपाईं चौकी बाहिर उभिनुहोस्, अदालत बाहिर उभिनुहोस्, सरकारी कार्यालयबाहिर उभिनुहोस्, अस्पताल बाहिर उभिनुहोस्— तपाईंलाई जिउँदो मानिसलाईजस्तो व्यवहार कदापि गरिँदैन। हामी नेपाली जिउँदो रहेको प्रमाण राहदानी नवीकरण गर्दा मात्रै राज्यलाई थाहा हुन्छ। यिनीहरूले जनताको सेवा गर्न राज्य चलाएका छैनन्। जम्मा-जम्मी विवाह दर्ता, जन्म दर्ता र मृत्यु दर्ताको दस्तुर उठाएर खाने अड्डा मात्र जमाएका छन्।

हिजो गाउँका साहुले दुई रुपैयाँ ब्याजमा ठग्थे, आज दुई करोडमा ठग्छन्। राज्यका मान्छेहरूले राज्य चलाउँदैनन्, मिटरब्याज चलाउँछन्। आफ्नै देशको राहदानी बनाउन नाकबाट पसिना चुहिन्छ। आफ्नै देशको नागरिकता लिन बाउ-आमा देखाएर मात्रै हुँदैन, आन्द्रा-भुँडी पनि चिरेर देखाउनुपर्छ। कर्मचारीले सेवाग्राहीलाई सजिलै हुने काम पनि जानाजानी अफ्ठ्यारो बनाइदिन्छन्। यसरी कृत्रिम रूपमा सिर्जना गरिएको अफ्ठ्यारोपनलाई अंग्रेजीमा 'Deliberate Bureaucratic Hurdles for Bribery' (घूसका लागि जानाजानी सिर्जना गरिएका प्रशासनिक अवरोधहरू) भनिन्छ। विगतमा पाएको दुःख अरूले पनि पाउनुपर्छ भन्ने सोच शासकहरूमा हावी छ। र यस्तो मानसिकतालाई 'Crab Mentality' (गँगटे मानसिकता) अथवा 'Cycle of Abuse' (दुरुपयोगको चक्र) पनि भनिन्छ।

खानेहरूले यसरी खाएकै छन्, ठग्नेहरूले यसरी ठगिरहेकै छन्। तर हामी भने 'फर्की आउ शान्ति, तिमी लालीगुराँस भन्छन्, फर्की आउ शान्ति भन्दै डाँफे-मुनाल डाँक्छन्' गीत गाएर बसौँ। नत्र त बाको शासनमा राज्यप्रति धोकाधडी गरेको र समाजको अमन चयनमा खलल् पुर्‍याएको वा यस्तै हुलहुज्जत गरेको आरोपमा 'देशद्रोहको मुद्दा' लाग्न सक्छ।

salt training

कमेन्ट गर्नुहोस्