
फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ ।
मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने, ‘खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ । ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ । हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ । र, हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौं । नेपाली टिमलाई अझ उचाइमा पुर्याउन हाम्रो निरन्तर साथ रहनेछ ।’
फुटबल प्रवर्द्धन गर्नु आफूहरूको सामाजिक उत्तरदायित्व पनि रहेको श्रेष्ठले बताए । महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा गर्व महसुस भएको उनको बताए ।
‘खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्त्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौं’, उनले भने ।