
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचना स्थापना भएको सात वर्षको अवधिमा कोशी प्रदेश सरकारले सुशासन र शासकीय सुधारमा महत्त्वपूर्ण काम गरेको बताएका छन् ।
कोशी प्रदेशसभाको छैटौं अधिवेशनको १३औं बैठकको शून्य समय र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आइसकेपछि २०७४ फागुन ३ गते गठन भएको प्रदेश सरकार नयाँ संरचनामा सिक्दै अगाडि बढिरहेको बताए ।
प्रदेशसभा नियमित सञ्चालन गर्न प्रदेश सरकारले बिजनेस अभाव हुन नदिने उल्लेख गर्दै उनले सरकारले कानून, नीति र कार्यविधि निर्माणमा सफलता हासिल गरेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेदेखि हालसम्ममा कोशी प्रदेशमा पुँजीगत खर्च रु ९६ अर्बभन्दा बढी खर्च भएको जानकारी दिँदै सरकार चालु खर्चमा १० प्रतिशत कटौती गरी रु ४० करोडको पुनःनिर्माण कोष स्थापना गरेको जानकारी दिए ।
विपद्बाट भएको क्षतिलाई सो कोषबाट पुनःनिर्माणको काम हुने भन्दै सात वर्षको अवधिमा सरकारले ६३ कानुन, ३१ नियमावली, १७ निर्देशिका र ७७ कार्यविधि बनाउन सफल भएको उनको भनाइ छ ।
प्रदेशमा लोकसेवा आयोगको कार्यालय, योजना आयोगको कार्यालय र लगानी बोर्ड स्थापना हुनु प्रदेश सरकारको उपलब्धि भएको जिकिर गर्दै प्रदेशमा यातायातका क्षेत्रबाट रु दुई अर्ब ८३ करोड राजस्व सङ्कलन भएको मुख्यमन्त्री कार्कीले बताए ।
प्रदेशमा सात हजार दुई सय ८४ जनता आवास भवन निर्माण, ६ सय आठ किमी सडक कालोपत्र गरिएको तथा लगानी सम्मेलनबाट पाँच दर्जनभन्दा बढी परियोजना भित्र्याउने गरी काम गरिरहेको उनले जानकारी दिए ।