
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको शहीद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यति बेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघि बढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ,’ प्रचण्डले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ।’
भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उनले स्पष्ट पारे ।
‘यो सचेतना निकै महत्त्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु,’ उनले भने ।
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरूपमा स्थापित गर्न खेलकुदको विकास महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्त्वपूर्ण भएको बताए ।
आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताए ।
बागमती गाउँपालिकाले खेल पूर्वाधारलाई महत्त्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उनले धन्यवाद पनि दिए ।