
शिक्षा केवल अक्षरहरूसँगको परिचय मात्र होइन, यो त चेतनाको यात्रासँगै उज्यालोको खोजी हो। यस यात्राका यात्रुहरूमध्ये एक विशिष्ट नाम हो- डा. हेमराज पन्त । उनी सुदूरपश्चिमको शैक्षिक क्षितिजमा उदाएका एउटा यस्तो नक्षत्र हुन्, जसले ज्ञानको उज्यालो छरिरहेका छन् ।
उनका शब्द, उनका सिद्धान्त, अनि उनको समर्पण- यी सबैले उनलाई केवल एक शिक्षाकर्मी मात्र होइन, बरु सुदूरपश्चिमको शिक्षा क्षेत्रको मेरुदण्ड हुन् भन्ने पुष्टि गर्छन् । विद्यार्थीहरूको आँखामा सपना देख्ने साहस भर्ने उनी, शिक्षकहरूमाझ मार्ग निर्देशक बन्ने र सिङ्गो समाजका लागि एक समर्पित शिक्षाविद् बन्ने डा. पन्तको कथा केवल व्यक्तिको कथा होइन, यो त सिङ्गो शैक्षिक आन्दोलनको कथा हो।
शब्दहरू कहिलेकाहीँ दीपजस्तै बन्छन्- जसले बाटो देखाउँछन्, उज्यालो छर्छन्, अनि अन्धकार चिर्छन्। सुदूरपश्चिमको त्यो अनगिन्ती बिहानहरू मध्ये कुनै एक बिहान, जब एक बालक किताबको पानाहरू पल्टाउँदै आफ्ना सपनाहरूको बिउ रोप्दै थियो, कसैले कल्पना पनि गरेको थिएनन्- यही बालक एक दिन हजारौं विद्यार्थीका लागि प्रेरणाको उज्यालो बन्ला । त्यही नाम हो डा. पन्त।
बाल्यकालदेखि नै शिक्षाप्रति विशेष रुचि राख्ने उनले उच्च शिक्षा हासिल गर्न ठूलो सङ्घर्ष गरे । देशभित्र र विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूबाट अध्ययन गर्दै उनले आफ्नो ज्ञानलाई निरन्तर परिष्कृत गरे। शिक्षण र अनुसन्धानलाई जीवनको अभिन्न अंश बनाउन चाहने उनले प्रारम्भिक चरणदेखि नै शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने लक्ष्य राखेका थिए । अथाह मेहनत र निरन्तर सङ्घर्षले उनलाई सफलताको शिखरमा पुर्याएको छ ।

शैक्षिक क्षितिजमा चम्किने नक्षत्र
शिक्षा क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएका डा. पन्तले सुदूरपश्चिम नेपालको शैक्षिक सुधारका लागि अतुलनीय योगदान दिए । उनी कैलाली बहुमुखी क्याम्पसको स्थापनादेखि यसको सुदृढीकरणसम्म महत्त्वपूर्ण भूमिकामा रहे । दुई दशकभन्दा बढी समय उनले उक्त क्याम्पसको क्याम्पस प्रमुख बनेर नेतृत्व गरे, जसले संस्थालाई एक उच्च शिक्षालयका रूपमा स्थापित गर्न ठूलो भूमिका खेल्यो ।
सुदूरपश्चिम विश्वविद्यालयको स्थापनामा उनको भूमिका अझै महत्त्वपूर्ण रह्यो । विश्वविद्यालय स्थापनाका क्रममा उनले नीतिगत सुझाव तथा कार्यान्वयनमा अग्रसरता देखाए । उनी नै सुदूरपश्चिम विश्वविद्यालयका पहिलो रजिस्ट्रार बने। विश्वविद्यालयको प्रारम्भिक संरचना, पाठ्यक्रम विकास तथा व्यवस्थापनमा उनको योगदान सुदूरपश्चिमको शिक्षा इतिहासमा सुनौलो अक्षरले लेख्नुपर्ने खालको छ ।
सपना रोप्ने शिक्षक, भविष्य निर्माण गर्ने मार्गदर्शक
डा. हेमराज पन्तले झन्डै ४२ वर्षसम्म अध्यापन गराइसकेका छन् । शिक्षणसँगै अनुसन्धान र नीति निर्माणमा पनि उनको रुचि रहेको छ । अध्ययन–अनुसन्धानका लागि उनले नेपालभित्र मात्र नभई विदेशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि सहभागिता जनाइरहेका छन् । शिक्षालाई व्यवहारिक बनाउनुपर्ने, अनुसन्धानमुखी शिक्षा प्रणाली आवश्यक रहेको र उच्च शिक्षाको पहुँचलाई सबैका लागि सहज बनाउनुपर्ने उनको धारणा छ ।
नेपालमा शिक्षाविदहरूको योग्यताको उचित उपयोग हुन नसकिरहेको सन्दर्भमा, डा. पन्तजस्ता अनुभवी व्यक्तित्वहरूको ज्ञान र अनुभवलाई अझ राम्रोसँग प्रयोग गर्न आवश्यक छ । विकसित राष्ट्रहरूले आफ्ना विज्ञहरूलाई नीति निर्माण तथा योजना निर्माणका महत्त्वपूर्ण स्थानमा राख्छन्, तर नेपालमा भने यस्तो व्यवस्थापनमा कमजोरी देखिन्छ ।
डा. पन्त जस्ता विद्वान्हरूलाई राज्यका नीतिगत निकायहरूमा सक्रिय राख्ने हो भने, नेपाली शिक्षालाई नयाँ उचाइमा पुर्याउन सकिन्छ ।
शिक्षाको उज्यालो दीप, शैक्षिक युग निर्माता
सुदूरपश्चिमको शैक्षिक इतिहासका डा.पन्त केवल एक शिक्षक, शिक्षाविद् र प्रशासक मात्र होइनन् एक दूरदर्शी नेतृत्वकर्ता पनि हुन्, जसले सुदूरपश्चिमका विद्यार्थीहरूका लागि उच्च शिक्षाको ढोका खोल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
विकसित राष्ट्रहरूमा मात्र होइन, संसारभर नै योग्य तथा विद्वान् व्यक्तिहरूलाई राष्ट्र निर्माणका विभिन्न जिम्मेवारी दिइन्छ । तर नेपालमा भने, यस्ता विशिष्ट प्रतिभाहरूलाई उचित जिम्मेवारी प्रदान गर्न नसक्दा उनी जस्ता क्षमतावान् व्यक्तिहरू सल्लाहकारको भूमिकामा मात्र सीमित भइरहेका छन् । राज्यले यदि डा. पन्तजस्ता व्यक्तित्वलाई शिक्षा नीति निर्माण, योजना आयोग, अथवा अन्य ठूला विकास योजनाहरूमा संलग्न गर्ने हो भने, त्यसले राष्ट्रकै समग्र प्रगतिमा ठुलो प्रभाव पार्न सक्छ ।
उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन
शैक्षिक योगदानका कारण समाजमा उनको ठूलो सम्मान छ । हालै धनगढी उपमहानगरपालिकाले उनलाई नागरिक अभिनन्दन प्रदान गरेको छ । जुन उनका योगदानहरूको औपचारिक कदर स्वरूप गरिएको सम्मान हो । उनको इमानदारिता, परिश्रम र समर्पणका कारण विद्यार्थी, अभिभावक तथा सहकर्मीहरू उनलाई अत्यन्त आदर गर्छन् ।
समाजमा नेतृत्व गर्ने जो कोही आलोचनाको पात्र बन्ने गर्छन् । तर, डा. पन्त भिन्न छन् । उनीजस्ता व्यक्तित्वहरू बिरलै हुन्छन् । जसले सार्वजनिक जीवनमा लामो समय नेतृत्व गरे पनि आलोचनाभन्दा बढी सम्मान कमाए । उनको कार्यशैली, शैक्षिक नीति–निर्माणमा देखाएको लगाव र विद्यार्थी–शिक्षक–समुदायबिचको सुमधुर सम्बन्धले उनलाई एक असल नेतृत्वकर्ताका रूपमा स्थापित गर्यो ।

उनले शिक्षाका क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै धनगढी उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्यो ।
ज्ञानको ज्योति र समयको सन्देश
समय बगिरहन्छ- उसलाई कसैले रोक्न सक्दैन। तर केही व्यक्तित्वहरू यस्ता हुन्छन्, जसले समयलाई आफ्ना कर्मले अङ्कित गर्छन्, जसले आफ्नो उपस्थितिले युग निर्माण गर्छन् । डा. पन्त पनि त्यही समयका हस्ती हुन्, जसको योगदानले सुदूरपश्चिमको शैक्षिक इतिहासमा एउटा अमिट छाप छोडेको छ।
उनले थालनी गरेको ज्ञानको दीप सधैं बलिरहोस् । कक्षा कोठाहरूमा उनले रोपेका सपनाहरू सधैं साकार बनून् । उनका विचारहरू पाठ्यपुस्तकका अक्षर मात्र होइनन्, तिनले विद्यार्थीका हृदयमा साहस भदै आएका छन् ।
कुनै कुनामा बसेर आफ्नो भविष्य निर्माणको बाटो खोजिरहेको विद्यार्थीको चेतनाले पनि भनोस्- 'म पनि डा. हेमराज पन्त सर जस्तै बन्छु! ।'
जीवनका पानाहरू पल्टिदै जान्छन्, इतिहासका अक्षरहरू कोरिँदै जान्छन्। तर केही नामहरू, केही कथा र केही योगदानहरू कहिल्यै मेटिँदैनन्। डा. पन्त त्यही युग निर्माता मध्येको एक नाम हो, जसले समयलाई जितेको छ।
उनको जीवन केवल यात्रा मात्र होइन, यो त प्रेरणाको एउटा जिउँदो दस्ताबेज हो- जसले शिक्षालाई साँचो अर्थमा बुझ्न चाहने हरेकलाई उज्यालो दिनेछ। शिक्षाका यी दीप, यो उज्यालो, अनि उनको योगदानको प्रकाश— पुस्तौं पुस्तासम्म रहिरहोस्। ज्ञानको यो ज्योति कहिल्यै निभ्न नपरोस् ।