१५ असार २०८३, सोमबार
पोखरा भ्रमण वर्ष

मेयर र अर्थमन्त्रीलाई अस्पताल पुर्‍याउने बेलुन विस्फोट, लापरबाही कसको ?

फागुन ३, २०८१
पाेखरा
मेयर र अर्थमन्त्रीलाई अस्पताल पुर्‍याउने बेलुन विस्फोट, लापरबाही कसको ?

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा बेलुन पड्किँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भए । उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

कार्यक्रमको उद्‌घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनमा फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूले भेटेपछि दुर्घटना हुन पुग्यो ।

भ्रमण वर्षको अनावरण गर्न अर्थमन्त्री र प्रमुखले स्विच अन गरेर उद्‌घाटन गरे । जसमा सहजीकरण प्रमुख धनराज आचार्यले गरे। स्विच अन गरेपछि ‘कोल फायर’ले उद्‌घाटन कार्यक्रमलाई हर्षोल्लास बनायो । विभिन्न कार्यक्रम, इभेन्ट, पार्टीहरूमा प्रयोग गर्ने यो कोल फायर स-सानो झिल्का जसरी बल्छ ।

त्यसपछि, प्रमुख आचार्य र अर्थमन्त्रीले पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्न लागे । जसलाई पनि स्विच अन गरेर रिमोटबाट बेलुन उडाउन प्रमुख आचार्य र अर्थमन्त्री एकै ठाउँमा उभिए ।

प्रमुख र अर्थमन्त्री उभिएको स्थानमा कोल फायरका झिल्काहरू उडिरहेका थिए । हाइड्रोजन ग्यास भरिएको बेलुन सोही झिल्का नजिक पर्‍यो ।

प्रमुख आचार्यले आफ्नो हातमा बेलुन समाउँदै गर्दा बेलुनको र झिल्काको दूरी थप नजिकियो । त्यसपछि बेलुन पड्कियो ।

महानगर प्रवक्ता मोतिलाल तिमिल्सिना कोल फायर बेलुनमा छोइएपछि पड्किएको बताउँछन् । ‘यो स्पार्किङपछि झिरर बल्ने रहेछ, त्यसले बेलुनलाई छोयो, त्यसपछि बलास्ट भयो,’ प्रवक्ता तिमिल्सिनाले भने । 

अत्यन्तै क्रियाशील मानिने हाइड्रोजन ग्यास ज्वलनशील पनि रहेको पृथ्वीनारायण क्याम्पसका रसायनशास्त्रका प्राध्यापक लेखनाथ खनाल बताउँछन् । रसायनशास्त्रमा नै पीएचडी गरेका खनालका अनुसार हाइड्रोजनले अक्सिजनसँग मिलेर छिटो रासायनिक प्रतिक्रिया दिन्छ । यसमा घटनामा सावधानी नपुगेको उनको बुझाइ छ। 

‘त्यहाँ मानवीय त्रुटि हुनसक्छ वा मेसिनरी त्रुटि हुनसक्छ । जब कतैबाट झिल्का फेला पार्छ वायुमण्डलमा अक्सिजन छ त्यसमा तुरुन्तै यसले रासायनिक प्रतिक्रिया गर्छ । हाइड्रोजन अत्यन्तै प्रज्वलनशील ग्यास हो, यसले सानोभन्दा सानो झिल्का पाए पनि बल्ने शक्ति बढी हुन्छ, यसमा सावधानी नै नपुगेको हो, यो घटना ठूलो हुन सक्थ्यो,’ प्राध्यापक खनालले लोकान्तरसँग भने । 

घटनापछि प्रमुख आचार्यलाई र अर्थमन्त्रीलाई नजिकैको अस्पताल लगिएको थियो ।

अहिले प्रमुख आचार्य र अर्थमन्त्री पौडेलको काठमाडौंस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

महानगरका अनुसार अर्थमन्त्री पौडेलको अनुहार र हात तथा प्रमुख आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको छ । उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्