
च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले पराजित गरेको छ।
कराँचीको राष्ट्रिय रंगशालामा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पाकिस्तानलाई जितको लागि ३२१ रनको बलियो लक्ष्य दिएको थियो।
तर लक्ष्य पछ्याउने क्रममा सम्पूर्ण पाकिस्तानी ब्याटिङ लाइनअप ४७.२ ओभरमा २६० रनमै अलआउट भयो।
पाकिस्तानका लागि बाबर आजमले ६४, सलमान अली आघाले ४२ र खुशदिल शाहले ६९ रन बनाए।
न्युजिल्याण्डका विलियम ओ'रोर्क र मिचेल सान्टनरले ३-३ विकेट लिए भने म्याट हेनरीले २ तथा माइकल ब्रेसवेल र नाथन स्मिथले १-१ विकेट लिए।
त्यसअघि कराँचीमा ओपनर विल योङ र टोम लाथमको शतकमा न्युजिल्याण्डले पाँच विकेट गुमाएर ३२० रन बनाएको थियो । लाथमले अविजित सर्वाधिक ११८ रन जोडे । त्यस्तै विल योङले १०७ रन जोडे । ग्लेन फिलिप्सले ६१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका नशिम साहले दुई, अबरार अहमद र हरिस रउफले समान एक/एक विकेट लिए ।
च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश खेल्दैछन् । भारतीय टोली पाकिस्तान नजाने भएपछि उसले आफ्ना सबै खेल यूएईमा खेल्नेछ । ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।