
एनसीसी-नोर्डिकको पॉचौं बैठक डेनमार्कको कोपेनहेगनमा सम्पन्न भएको छ । गत शनिवार दुई चरणमा सम्पन्न बैठकको पहिलो 'खुल्ला शनिवार चरण' गैरआवासीय नेपाली संघ, डेनमार्कका वर्तमान अध्यक्ष कमलराज शर्माको अध्यक्षता र महासचिव नविन आचार्यको संचालनमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा डेनमार्कका लागि नव नियुक्त नेपाली राजदूत सुम्निमा तुलाधर, विशेष अतिथि गैरआवासीय नेपाली संघ यूरोपक्षेत्रका डीआरसी राजु अर्यालले गरेका थिए।
कार्यक्रममा नर्डिक क्षेत्रका ४ वटै राष्ट्र क्रमशः डेनमार्क, स्विडेन, फिनल्यान्ड र नर्वे आईसीसी सदस्य, राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले नवनियुक्त राजदूतलाई स्वागत गर्दै नेपाली राजदूतावासले पुर्याउनु पर्ने सेवा सुविधाप्रति चासो राखेका थिए ।
राजदूत तुलाधरले नेपाल सरकारका तर्फबाट हुनसक्ने सेवा-सुविधामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।
नोर्डिक क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको हकहित र नेपालीहरूले मातृभूमिमा पुर्याउन सक्ने लगानी तथा सेवालाई विशेष ध्यानमा राखी सुरू गरिएको यस कार्यक्रममा नेपालको मानव अधिकारका क्षेत्रमा लामो समय काम गरेका गौरी प्रधानले उत्तरी यूरोप र नेपालको दैत्य सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
दोस्रो चरण को बन्दसत्र कार्यक्रमलाई कार्यक्रमका संयोजक समेत रहेका गैर आवासीय नेपाली संघ, डेनमार्कका आइसीसी सदस्य दीपक राज रिजालले संचालन गरेका थिए।
नोर्डिक क्षेत्रका गैरआवासीय नेपाली संघ राष्ट्रिय समितिका प्रतिनिधिहरूलगायत यस क्षेत्रमा बसोवास गर्ने गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थामा भएका तथा भविष्यमा गर्नु पर्ने कार्यलगायत हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्मा देखिएको समस्यालाई गम्भीरता पूर्वक छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।
यस क्षेत्रका एनआरएनए राष्ट्रिय समन्वय समितिहरूले केन्द्रलाई चाँडोभन्दा चाँडो समस्या समाधानका लागि दबाब दिन राष्ट्रको हित, एनआरएनएको हित तथा सामूहिक अधिकार भन्ने नाराका साथ उपयुक्त समयमा एकता महाधिवेशनको पक्षमा उभिन चार वटै समिति एकै ठाउँमा रहने निर्णय गरेको छ।