
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आफ्नै टीमबाट सभापतिको उम्मेदवार बन्नुपर्ने सुनिश्चितता खोज्दै ११ भाइ नेता सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेपछि डा शेखर कोइराला समूह पनि उत्साहित देखिएको छ ।
आफूहरूलाई रणनीति बनाउन सहज हुने गरी प्रतिस्पर्धी टीममा गतिविधि हुन थालेको भन्दै शेखर टीम खुशी देखिएको हो । महामन्त्री गगन थापालाई पनि रोक्ने गरी देउवा टीममा माहोल बन्नु आफूहरूका लागि खुशीको कुरा भएको उनीहरूको हिसाब छ ।
‘हाम्रो टीमबाट फेरि पनि शेखर दाइले सभापतिमा उठ्ने गरी दौडधूप गरिरहनुभएको छ । औपचारिक रूपमा १५ औं महाधिवेशनका लागि सभापतिको तयारी गर्छु भनेर घोषणा गर्ने पनि उहाँ पहिलो नेता हो,’ शेखरनिकट स्रोतले भन्यो, ‘महाधिवेशन तत्काल हुँदै छैन । तर, पनि संस्थापन पक्षका ११ नेताले सभापतिको निवासमा पुगेर पुरानै टीमलाई सशक्त बनाउनुपर्यो भन्दै गरेको याचना हाम्रो लागि शक्ति र रणनीतिक मौका हो ।’
देउवा निवासमा संस्थापनका नेताहरूले आफूहरू कमजोर रहेको रहेको, तर शेखर र गगनहरूले मात्रै महाधिवेशनको तयारी थालेको निष्कर्ष निकालेका थिए । यसलाई शेखर पक्षले संस्थापनले आफूहरूबाट जोखिम महसुस गरेको अर्थमा बुझेको देखिन्छ ।
००००
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको राजीनामा स्वीकृत गरेको हो । केसीले घरयसी कारण देखाउँदै राजीनामा दिएका थिए ।
डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको प्रहरी अधिकारीहरू बताउँछन् । अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजी बढुवा सिफारिस गर्ने तयारी छ ।
००००
सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखाका ढकाललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
००००
ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि दोहोरो झडप भएको छ । ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार झडप भएको हो । प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पूजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेनसहितका व्यक्तिहरू त्यहाँ पुगेका थिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट तथा संवाद गर्नेगरी ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ । सो कार्यका लागि पार्टीले प्रदेश समितिलाई निर्देशन दिएको छ ।
००००
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए ।
००००
राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको छ ।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपिट र दुव्र्यवहाबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।
००००
पोखरा विश्वविद्यालयको बिहीबार सम्पन्न २०औँ दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । यो सङ्ख्या हालसम्मकै बढी हो ।
पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा तुलसी भण्डारीका अनुसार दीक्षान्त समारोहमा ३० जनाले उत्कृष्ट पदक प्राप्त गरेका छन् ।
००००
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् ।
गोरखाको पालुङटार नगरपालिका–१० मा बिहीबारदेखि शुरू भएको चौंथो मिरकोट कोटगढी महोत्सवको उद्घाटन गर्दै प्रचण्डले जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको देश रहेको उल्लेख गरे ।
००००
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा देशको आयात र निर्यात दुवै बढेको छ ।
बिहीबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा देशको आयात–निर्यात दुवै बढेको देखाएको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवको ७ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँको वस्तु आयात भएको थियो । यो गत वर्षको तुलनामा १०।०९ प्रतिशतले बढी हो ।
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको बिहीबारदेखि शुरू हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहीबार र शुक्रबार बस्ने तयारी गरिएको बैठक पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति शोक प्रकट गर्न स्थगित गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । बैठक शुक्रबार र शनिबारलाई सारिएको उनको भनाइ छ ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि गर्ने भनिएको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिले भारत भ्रमण गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित भएको जानकारी दिए ।
देउवा प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा दर्शन गरेर उत्तर प्रदेशमा आयोजित एक औपचारिक कार्यक्रममा सहभागी हुने तय भएको थियो ।
स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ताको सम्भावना नरहेपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । शुरूमा २ दिनको भ्रमण भनिए पनि प्रयागराजको कार्यक्रम सकिएपछि देउवा उतैबाट दिल्ली जाने तयारी थियो ।
देउवाले भेटवार्ताका लागि पहल गरेपनि दिल्लीले इग्नोर गरेको बताइएको छ । यसअघि परराष्ट्रमन्त्री आरजु राणा भारत जाँदासमेत उच्चस्तरीय भेट हुन सकेको थिएन ।