
नेपाल एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्थाको पक्षमा भइरहेको वकालत देशमा तानाशाही लागू गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकार साना र विपक्षी दललाई तर्साउन लागिपरेको उनले टिप्पणी गरे ।
पार्टी केन्द्रीय समिति बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै नेपालले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएका हुन् ।
‘अहिले सरकारले जस्तो शासन गरिरहेको छ, त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीय व्यवस्थाको वकालत तानाशाही लाग्ने सोचभन्दा भिन्न कुरा छैन,’ नेपालले भने ।
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राजनीतिक स्थायित्वका लागि निर्वाचन कानूनमा संशोधनको बहस गरिरहेका छन् । निर्वाचन कानून सुधारका नाममा साना दलको अस्तित्व मेटाउने कोशिश सत्ताधारी दलले गर्न लागेको अध्यक्ष नेपालको आरोप छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै अध्यक्ष नेपालले संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न अग्रसर भएको आरोप लगाए । ‘संसद्को नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहेका छन् । आफ्ना आलोचक कोही छन् भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन्,’ नेपालले भने ।