०७ असार २०८३, आइतबार

जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : गगन थापा

फागुन ९, २०८१
मोरङ
जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताए ।

'गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा  राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौं,' थापाले भने ।

प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको धारणा राखे । 'यसर्थ पार्टीका नेता तथा कार्यकर्ताले गुट उपगुट नबनाइ जनताको सर्वोपरि हितका लागि क्रियाशील हुनुपर्छ,' उनले भने । 

सञ्चारकर्मीको जिज्ञासामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहनुभएको र केही दिनभित्र समझदारी हुने विश्वास व्यक्त गरे । 

नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया शुरू भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्