
महोत्तरी जिल्ला अदालतकी न्यायाधीश फणेश्वरी घिमिरेले एउटा गम्भीर प्रकृतिको मुद्दामा अस्वाभाविक सक्रियता देखाएको पाइएको छ ।
अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान र व्यक्ति बेपत्तासम्बन्धी कसुरको मुद्दालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिरहेकी न्यायाधीश घिमिरे सुनुवाइकै क्रममा मुद्दाका एक पक्षको घरमा पुगेको तथ्य फेला परेको छ ।
न्यायाधीशको आचारसंहिताविपरीत घिमिरेले प्रतिवादीहरूको घर खोज्दै हिँडेको तथा प्रतिवादीविरुद्ध मिसिलमा कुनै प्रमाण नरहेको भनेर जाहेरवालालाई निरुत्साहित गर्न खोजेको आरोप लागेको छ ।
न्यायाधीशको आचारसंहितामा न्यायाधीशले मुद्दाको कुनै पनि पक्षलाई भेट्न नहुने उल्लेख छ । तर, घिमिरेले एउटा पक्षको घरमै पुगेर न्याय सम्पादन प्रभावित हुने गतिविधि गरेकी हुन् ।
मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको अवस्थामा सार्वजनिक बिदाको दिन न्यायाधीश जाहेरवालाको घर तथा घटनास्थलमा पुगेकी थिइन् ।
२०७७ फागुनमा महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोरवा गाउँका वृद्ध मुसाफिर झा र गीतादेवी झा दम्पतीको अपहरण गरी हत्या भएको थियो ।
त्यही चर्चित अपहरण तथा हत्या मुद्दाको सुनुवाइका क्रममा सार्वजनिक बिदाको दिन पारेर न्यायाधीश घिमिरे जाहेरवालाको घरमै पुगेको कुरा बाहिरिएको हो ।
मृतक दम्पतीका छोरा एवं जाहेरवाला मनीष झाका अनुसार न्यायाधीश घिमिरेले घरमा आएर मुख्य प्रतिवादी हरेन्द्र ठाकुरको संलग्नताबारे मिसिलमा कुनै प्रमाण नदेखिएको बताएकी थिइन् ।
‘फागुन ७ गते बिदाको दिन बिहान ११ बजे हाम्रो मुद्दा हेरिरहनुभएकी न्यायाधीश फणेश्वरी घिमिरे र अर्की एक महिला न्यायाधीश सुरक्षा गार्डसहित आउनुभयो । मुद्दाका केही प्रतिवादीहरूको घर देखाउन भन्नुभयो । त्यसपछि मुख्य प्रतिवादी हरेन्द्र ठाकुरको संलग्नताबारे मिसिलमा केही पनि प्रमाण भेटिएन भन्नुभयो,’ जाहेरवाला मनीषले लोकान्तरसँग भने ।
न्यायाधीश घिमिरेसँगै पुगेकी अर्की न्यायाधीश शारदादेवी पौडेल हुन् ।
मनीषले लोकान्तरलाई भनेको कुरा जस्ताको तस्तै:
फागुन ७ गते बिहान करिब ११ बजेतिर म आफ्नो घरभित्र बसिरहेको थिएँ । गाडी सडकमा पार्क गर्न लगाएर न्यायाधीश घिमिरे अर्की एक महिला न्यायाधीश र सुरक्षा गार्डसहित मेरो पुरानो घरसम्म पुग्नुभएको रहेछ ।
उहाँहरूलाई त्यहाँ देखेपछि मेरी ठूली काकीले न्यायाधीश आउनुभएको छ भनेर खबर गर्नुभयो । मैले पनि घरबाट बाहिर सडकमा निस्केर हेरें । तौलिया लगाएकै अवस्थामा घरबाट बाहिर सडकमा आएर हेर्दा साँच्चै उहाँ आउनुभएको रहेछ ।
मैले उहाँलाई नमस्कार गरें । घटना भएको कुन घर हो मनीष भनेर श्रीमानले सोध्नुभयो । यो पुरानो घर हो,घटना भएको घर अलि पर छ भनेर जवाफ दिएँ । त्यसपछि उहाँले प्रतिवादी कैलाश झाको घर कुन हो भनेर सोध्नुभयो । मैले प्रतिवादी कैलाश झाको घर देखाएँ । त्यसपछि अर्को प्रतिवादी रामबाबु यादवको घर कुन हो भनेर सोध्नुभयो । मैले रामबाबुको घर पनि देखाएँ ।
त्यसरी दुईजना प्रतिवादीको घर देखाएपछि श्रीमान यहाँसम्म आउनुभएकै छ भने एकपटक घटनास्थल पनि हेर्नुहोस् भनेर अनुरोध गरें । उहाँहरू घटना भएको घरसम्म पुग्नुभयो । घरभित्र छिरेर उहाँलाई मैले सबै कुरा देखाएँ । मेरो आमा सुत्नुभएको ठाउँ, बुवा सुत्नुभएको ठाउँ, मेरो श्रीमती सुतेको कोठा पनि देखाएँ । रगतको थोपा खसेको स्थानहरू पनि देखाएँ ।
त्यति देखाइसकेपछि श्रीमानले अनौठो कुरा सुनाउनुभयो । मनीष, यो मिसिलमा हरेन्द्र ठाकुरको त्यति संलग्नता देखिनँ मैले भन्नुभयो,अनि फर्किनुभयो ।
फागुन ५ गते न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी चढेपछि उनले त्यसलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ अगाडि बढाएकी थिइन् । फागुन ६ गते पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिन् । फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा भएकाले त्यसदिन न्यायाधीश घिमिरे जाहेरवालाको घरमै पुगेकी हुन् ।
पुनः भोलिपल्ट फागुन ८ गते मुद्दाको पेशी थियो । इजलास बस्नुअघि नै जाहेरवाला मनीषले मुद्दामा सरकारको तर्फबाट बहस गरिरहेका सरकारी वकिल सहायक जिल्ला न्यायाधिवक्ता सुदीपकुमार रायलाई न्यायाधीश आएर हरेन्द्रको बारेमा भनेको कुरा सुनाए । सरकारी वकिल रायले सबै न्यायाधीशहरू बसिरहेको ठाउँ (कमन च्याम्बर)मै पुगेर उक्त विषयबारे सोधीखोजी गरे ।
‘घिमिरे श्रीमान जाहेरवालाको घरमै पुग्नुभएको रहेछ । के हो भनेर मैले कमन च्याम्बरमा कुरा राखें,’ सहायक जिल्ला न्यायाधिवक्ता रायले लोकान्तरसँग भने, ‘म गलत नियतले गएको होइन, के रहेछ भन्ने बुझ्न मात्र गएको हो भनेर उहाँले श्रीमानहरूको अगाडि भन्नुभयो ।’
त्यसपछि १ नम्बर इजलासका न्यायाधीश मदनबहादुर धामीले पनि त्यसरी जानु हुँदैनथ्यो भनेको रायले बताए ।
‘१ नम्बर श्रीमानले पनि सो क्रममा आफ्नो कुरा राख्नुभयो । अहिले त्यसरी जाने ट्रेन्ड छैन, किन जानु भयो ? जानु नै थियो भने हामीलाई जानकारी गराएर गएको भए राम्रो हुन्थ्यो भन्नुभयो,’ रायले त्यहाँ भएको कुराकानी उद्धृत गर्दै लोकान्तरसँग भने ।
सोही दिन फैसला गर्ने तयारी रहेकोमा त्यसपछि अन्य आदेश गरेर सुनुवाइ सकियो ।
‘यत्रो प्रश्न उठिसक्यो, अब आज तपाईंले फैसला नगर्नुहोस् । अन्य केही आदेश गरेर टार्नुस्, भनेर १ नम्बर न्यायाधीशले भन्नुभएको रहेछ । यो कुरा सरकारी वकिलले हामीलाई जानकारी गराउनुभयो,’ मनीषले लोकान्तरसँग भने, ‘त्यसपछि इजलास बस्यो । प्रतिवादीका दुईजना कानून व्यवसायीले बहस गरेपछि न्यायाधीशले आज फैसला हुँदैन, प्रमाण बुझ्ने आदेश गर्छु भन्नुभयो ।’
इजलासबाट बाहिरिन लाग्दा न्यायाधीशले मनीषलाई घर गएको विषयबारे कतै चर्चा नगर्न भनेकी थिइन् ।
‘सुनुवाइ सकिएपछि इजलासमै श्रीमानले अब यो विषयबारे कतै चर्चा नगर्न तथा पत्रपत्रिकामा समाचार नलेखाउनु भन्नुभयो । मैले प्रमाण बुझ्ने आदेश गरेकी छु, फैसला गरेकी छैन भन्नुभयो,’ मनीषले लोकान्तरसँग भने ।
निरन्तर सुनुवाइ गरिरहेकी न्यायाधीश घिमिरेले फागुन ८ गते छुट्टाछुट्टै दुईवटा आदेश गरिन् ।
‘प्रतिवादी कैलाश झाको अदालतको बयानमा निज प्रतिवादीको २०७७ चैत १० गतेको गतिविधि पिपरा बजारस्थित एभरेस्ट बैंकको सीसीटीभी क्यामेराको फोटो/भिडियोबाट पत्ता लागेको कुरा प्रहरीले बताएको थियो भन्ने व्यहोरा लेखाएको देखिन्छ, तर उक्त सीसीटीभी क्यामेराको फोटो/भिडियो मिसिल सामेल रहेको नदेखिँदा उक्त सीसीटीभी क्यामेराको फोटो/भिडियो उपलब्ध हुन सक्ने भए जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीमार्फत यथाशीघ्र सम्बन्धित प्रहरी कार्यालयबाट झिकाउनू, उपलब्ध हुन नसक्ने भए सोहीबमोजिमको जवाफ मगाई साथै राख्नू,’ फागुन ८ गते गरिएको आदेशमा उल्लेख छ ।
‘त्यसैगरी जाहेरवाला र प्रतिवादीको तर्फबाट बहसको क्रममा पेश भई मिसिल सामेल रहेको पेनड्राइभमा भएको अडियो तथा भिडियोहरू जाहेरवाला, वादी नेपाल सरकार, प्रतिवादीहरूको कानून व्यवसायी तथा यस अदालतको श्रेस्तेदार समेतको रोहबरमा खोली/हेरी भएको व्यहोरा लिपिबद्ध गरी मिसिलमा सामेल राख्नू,’, फागुन ८ गतेकै सोही आदेशमा उल्लेख छ ।

त्यसबाहेक सोही दिन अर्को आदेश पनि गरिएको छ ।
‘यसमा प्रतिवादीमध्येका शिवशंकर झाको नाममा जारी भएको पक्राउ पुर्जी २०७८ फागुन १५ मा निज प्रतिवादीको घरदैलोमा टाँस भई रीतपूर्वक तामेल भई आएकोमा हालसम्म उपस्थित नभई फरार रहेका प्रतिवादी शिवशंकर झाका नामका सम्पत्ति रोक्का रहेको निस्सा मिसिल सामेल नदेखिँदा निज प्रतिवादीको नाममा कुनै जग्गा वा सम्पत्ति रहेको छ/छैन ? रहेको भए मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८ (१५) बमोजिम अंश रोक्का राखी सोको जानकारी यस अदालतमा यथाशीघ्र पठाइदिन भनी सम्बन्धित मालपोत कार्यालयलाई लेखी पठाई नियमानुसार गर्नू,’ फागुन ८ गते गरिएको अर्को आदेशमा उल्लेख छ ।

यस विषयमा प्रतिक्रिया लिन न्यायाधीश घिमिरेलाई पटक–पटक फोन सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन चाहिनन् । फोन उठाइसके पछि पनि उनले कुराकानी गर्न खोजिनन् । महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झा, सूचना अधिकारी केदारनाथ झा र तहसिलदार सुनिलकुमार यादवको मोबाइल फागुन ८ गतेदेखि स्विच अफ रहेकाले कुनै पनि प्रतिक्रिया लिन सकिएन ।
नेपाल बार एसोसिएसन महोत्तरीका अध्यक्ष दीपक विश्वकर्माले कुनै पनि न्यायाधीश मुद्दाका पक्ष/विपक्षको घरमा गएर भेट्नु गलत रहेको बताए ।
‘न्यायाधीशले मुद्दाको कुनै पनि पक्षको घरमै गएर भेट्नु गलत हो । त्यसलाई कुनै पनि हिसाबले सही भन्न सकिँदैन,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘तर, न्यायाधीश घिमिरेले मुद्दाका पक्षलाई घरमै गएर भेट्नुभएको हो वा होइन भन्ने विषयमा मलाई आधिकारिक जानकारी छैन । बारमा यसबारे साथीहरूले कुरा उठाएपछि बुझ्दैछु ।’
उनले थपे, ‘न्यायाधीश घिमिरेसँग भेटेर मात्र वास्तविक कुरा के हो, उहाँले भेट्नुभएको हो वा होइन, भेटे पनि के नियतले भेट्नुभएको हो भन्ने कुरा भन्न सक्छु ।’
अर्का एक वरिष्ठ अधिवक्ताले न्यायाधीशले अस्वाभाविक सक्रियता देखाउनु गम्भीर विषय भएको बताए । ‘यत्रो ठूलो जोखिम लिने आँट कसैले गर्छ भन्ने कुरा सोच्न पनि सकिन्न । यो त अत्यन्त गम्भीर विषय हो,’ ती वरिष्ठ अधिवक्ताले लोकान्तरसँग भने, ‘तत्काल सम्माननीय प्रधानन्यायाधीशज्यूले ती न्यायाधीशलाई जिम्मेवारीविहीन बनाएर सर्वोच्चमा तान्नुपर्छ । न्यायपरिषदमार्फत छानबिन अघि बढाउनुपर्छ ।’
२०७७ फागुन ११ मा पिपरा गाउँपालिका– ५ सहोडवाका झा दम्पती अपहरणमा परेका थिए । चैत १२ गते पिपरा–मटिहानी सडक खण्डमा रहेको कल्भर्टनजिकै उनीहरूको शव बोरामा सडेको अवस्थामा फेला परेको थियो ।
यस मुद्दामा कैलाश झा, राजेन्द्र भन्ने राजिन्द्र यादव, तेजनारायण झा, रामबाबु यादव, विकास भन्ने बब्लुकुमार झा, सुरेन्द्र यादव, हरेन्द्र ठाकुर, रञ्जित मिश्र र तारादेवी झासहित कुल ९ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरूमध्ये कैलाश झा, हरेन्द्र ठाकुर र रामबाबु यादव महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
अर्की प्रतिवादी तारादेवी झालाई अदालतले २ लाख धरौटीमा तारेखमा, अंशु झालाई ५० हजार धरौटी तारेखमा छाडेको थियो ।
त्यसैगरी, उच्च अदालत जनकपुरले प्रतिवादीहरू बब्लु झालाई २ लाख, सुरेन्द्र यादव र राजिन्द्र यादवलाई ५/५ लाख धरौटीमा छाडेको थियो । अहिलेसम्म यो मुद्दा ६० पटक पेशीमा चढेको देखिन्छ ।
विभिन्न मितिमा विभिन्न न्यायाधीशको इजलासमा पेशी चढेकोमा केही न्यायाधीशले प्रमाण बुझ्ने आदेश गरेका छन् भने धेरैजसो न्यायाधीशको इजलासमा पेशी चढ्दा कुनै बेला वादी पक्षबाट, त कुनै बेला प्रतिवादीका कानून व्यवसायीबाट पेशी स्थगित गर्न लगाइएको छ ।
तर, रोचक कुरा के भने पछिल्लो केही समयदेखि न्यायाधीश फणेश्वरी घिमिरेको इजलासमा पेशी चढ्दा धमाधम सुनुवाइ, विभिन्न आदेश तथा पछिल्लोपटक हेर्दाहेर्दैमा राखेर मुद्दा अगाडि बढाएको देखिन्छ ।
२०८१ मंसिर ११ गते घिमिरेको इजलासमा पेशी चढ्दा प्रतिवादीको कानून व्यवसायीबाट सुनुवाइ स्थगित गराइएको थियो । तर, २०८१ पुस २ गते पुनः घिमिरेकै इजलासमा पेशी चढ्दा सुनुवाइ भएर अन्य आदेश भएको देखिन्छ ।
‘प्रस्तुत मुद्दाको अनुसन्धानका क्रममा परीक्षणका लागि पठाइएका मोबाइलहरू परीक्षण भई प्रहरी प्रधान कार्यालय (कार्य एवं अपराध अनुसन्धान विभाग)को चलानी नम्बर ३७८, ३७९, ३८० र ३८१ (२०७७ चैत ३१ को) पत्रसाथ प्राप्त हुन आएको मिसिल संलग्न फाइलहरू प्रिन्ट गरी डीभीडीअनुसार संकेत गरी छुट्टाछुट्टै फाइल गरी साथै राख्नू,’ फागुन २ गतेको आदेशमा उल्लेख छ ।

त्यसैगरी, बादी नेपाल सरकार, जाहेरवाला तथा प्रतिवादीहरूबाट आ-आफ्नो कानून व्यवसायीमार्फत लिखित बहस नोट पेश गर्न लगाउनू, प्रस्तुत मुद्दाको तथ्य सम्बन्धमा पूर्वफाँटवाला समेतको सहयोगमा टिपोट तयार गरी मिसिल सामेल राख्ने भनी आदेश गरेको देखिन्छ ।
प्रस्तुत मुद्दा २०७७ सालको पुरानो मुद्दा रहेकाले ती कार्यहरू ७ दिनभित्र सम्पन्न गरी लगाउको मुद्दा साथै राखी नियमानुसार पेश गर्न पुस २ गते न्यायाधीश घिमिरेले नै आदेश गरेकी थिइन् ।
त्यसपछि पुनः माघ ६ गते र माघ १३ गते पनि घिमिरेकै इजलासमा पेशी चढ्दा अन्य आदेश भएको देखिन्छ । माघ १३ गते गरिएको आदेशमा भने यसअघि भएका पूर्व आदेश अनुसारको कार्य सम्पन्न गर्न भनिएको छ ।
त्यसपछि फागुन ५ गते पुनः घिमिरेकै इजलासमा पेशी चढ्दा ८ गतेसम्म हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरे पनि उनको अस्वाभाविक सक्रियता खुलेपछि पुनः प्रमाण बुझ्ने आदेश गरेको देखिन्छ ।
न्यायाधीश घिमिरे कारबाहीमा परेका पूर्व न्यायाधीश परशुराम भट्टराईकी श्रीमती हुन् । भट्टराईले १ वर्षअघि धनुषा जिल्ला अदालतमा हत्या मुद्दाका मुख्य अभियुक्तलाई सफाइ दिएपछि सर्वोच्च अदालतले उनलाई तत्काल कारबाही गरेर सर्वोच्चमा तानेको थियो ।
सर्वोच्चमै तानिएका बेला भट्टराईले राजीनामा दिएका थिए । भट्टराईले सफाइ दिएका हत्या अभियुक्तलाई पछि उच्च अदालत जनकपुरले जन्मकैदको सजाय गरेको थियो । तर, भट्टराईकै इजलासबाट सफाइ पाएका ती प्रतिवादी हालसम्म फरार छन् ।