
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५८औं सत्रको उच्चस्तरीय बैठकमा सहभागी हुन शनिबार स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्न लागेकी छन्। उक्त बैठक २४ देखि २६ फेब्रुअरी २०२५ सम्म जेनेभामा आयोजना हुँदैछ ।
परराष्ट्रमन्त्री डा. देउवाले २४ फेब्रुअरीका दिन उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसबाहेक, आफ्नो भ्रमणको क्रममा उनले विभिन्न देशका समकक्षी परराष्ट्रमन्त्रीहरूसँग, संयुक्त राष्ट्रसंघका निकाय प्रमुखहरू र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूसँग तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयको भनाइ छ ।
नेपाललाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्य बन्न आवश्यक समर्थन जुटाउन पनि उनले विभिन्न राष्ट्रहरूसँग संवाद गर्नेछिन् ।
उनी २८ फेब्रुअरी २०२५ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ।