
वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता जस्ता विषयले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको छ ।
विश्वभर हुने सम्पत्ति शुद्धीकरण, आतंकवाद फन्डिङ, लागूऔषध ओसारपसारजस्ता विषयमा सूक्ष्म निगरानी राख्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको हो ।
दुई वर्षअघि एफएटीएफको एसिया प्यासिफिक ग्रूप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदन (एमईआर) ले दिएका सुझाव कार्यान्वयन नगरेको कारण देखाउँदै नेपाललाई ग्रे लिस्टमा राखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले लोकान्तरलाई बताए ।
ती अधिकारीका अनुसार हालै फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई आगामी दुई वर्षका लागि निगरानी सूचीमा राख्ने निर्णय गरेको हो ।
उक्त बैठकमा प्रधानमन्त्री कार्यालयका कानून महाशाखाका सचिव पनि उपस्थित थिए । उनी सोमवारसम्म नेपाल फर्कने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।