
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पूर्ण केन्द्रीय समितिको बैठक आज आइतबार पनि जारी रहने भएको छ ।
गएको माघ २७–२९ काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनपछि शनिबार पूर्ण केन्द्री समितिको पहिलो बैठक शुरू भएको थियो ।
बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।
बैठकमा उपाध्यक्ष ईश्वर रिजालले पदाधिकारी एवं सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता प्रस्तुत गरेका थिए। सचिव लक्षण कार्कीले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे प्रस्ताव पेस गरे।
त्यसैगरी, महासचिव सोनामसिं स्याङ्तानले संगठनात्मक सिद्वान्त र प्रणालीबारे बैठकमा बोले। मुख्य निर्णय आइतबार हुने उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन्।
शनिबार महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो। नेसपा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यसमिति छ।