

१
समय सधै एकनास कहाँ हुन्छ?
सबै तिमीजस्तै खास कहाँ हुन्छ?
जिन्दगी बुझेर कात्रो बोकी हिँड्ने मान्छेलाई
मृत्युदेखि डर अनि त्रास कहाँ हुन्छ?
शकैं शंकाले लंका जलाइसकेपछि
सम्बन्धमा पहिलेजस्तो मिठास कहाँ हुन्छ?
बिर्सेर पनि मलाई यो प्रश्न कहिल्यै नसोध्नू
कोशिश भोलि तेरो बास कहाँ हुन्छ?
२
तिम्रो औकात थाहा पाउन केही समय कुर्नुपर्छ
साथीलाई पनि दुश्मन बनाउन केही समय कुर्नुपर्छ
ढुङ्गा हान्नेलाई पनि नबिर्सी धन्यवाद भनिदिनू
तिमीमाथि फूल बर्साउन केही समय कुर्नुपर्छ
भुल्छु भन्दैमा तत्काल भुल्न कहाँ सकिँदो रहेछ र?
यादहरुलाई पर्खाल लगाउन केही समय कुर्नुपर्छ
जसरी चल्न खोज्छ त्यसरी नै छोड्देको छु जिन्दगीलाई
मैले भनेअनुसार चलाउन केही समय कुर्नुपर्छ
-काेसिस ओझा, कास्की