
नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ ।
‘जाऊँ भने जाऊँ त नि
दुईचार महिना घुमेर आऊँ त नि
हिमाल चुचुरे
दाइको मन कस्तो बानी निष्ठुरे’ बोलको लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा सार्वजनिक गरिएको छ ।
यो नवीन स्वरूपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरुले संयुक्त रूपमा गरेका हुन् । नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गत वर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन् । गीतलाई नयाँ स्वरूपमा भने ब्यान्ड स्वयंले ढालेर केही समययता कन्सर्टहरुमा गाउँदै आएको छ ।
‘हिमाल चुचुरे गीतलाई शुरूमा बिग्रिएको जिब्रो अनुसारै क्यास्टो भनेर रेकर्ड गर्ने चाहना थियो’, संस्थापक एवं गायक अमृत भन्छन्, ‘तर, साथीहरूमा मत नमिलेपछि अलिक मिलाएरै तयार पारेका थियौं ।’
स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन् ।
‘नयाँ पुस्ताको रूचिअनुसार नौला गीतहरू नेपथ्यले सदैव सुनाउँदै आएको छ’, ब्यान्डको व्यवस्थापन सम्हाल्ने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ कुनै कालखण्डमा ब्यान्डले नै गाएको पुरानो गीतलाई पनि नयाँपन दिँदा त्यस्ता रुचिको सम्बोधन हुन सक्ने आंकलन गरेरै यो गीत यस रूपमा पुनः प्रस्तुत गरेका हौं ।’
नेपथ्यको आधिकारिक युट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । युट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरू स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरमा उपलब्ध हुनेछन् ।