
काठमाडौं, ७ मंसिर - मंसिर १० गते हुने पहिलो चरणको स्थानीय निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधी सुरु हुँदै छ । पहिलो चरणमा निर्वाचन हुने ३२ वटा हिमाली र पहाडी जिल्लामा मौन अवधी शुरु हुन लागेको हो ।
मतदान भन्दा ४८ घण्टा अघिदेखि कुनै पनि चुनावी गतिविधि गर्न नपाइने व्यवस्था अनुरुप मौन अवधी लगाइँदै छ । मौन अवधीमा मत माग्न र प्रचार प्रसार गर्न समेत पाइदैन । निर्वाचन आयोगले फेसबकुर र एसएमएसबाट समेत मत माग्न नपाइने जनाएको छ ।
मौन अवधिमा आचारसंहिता उल्लंघन गरेमा मनोनयन समेत रद्द हुन सक्ने कानूनी प्रावधान रहेको छ ।
मौन अवधी शुरु भएसँगै उम्मेदवार, राजनीतिक दलका अरु नेता, सञ्चार माध्यम तथा सर्वसाधारणले समेत प्रचारप्रसारजन्य कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । ३२ वटा जिल्लामा मौन अवधि सुरु हुने भएपनि दोस्रो चरणमा चुनाव हुने बाँकी जिल्लाहरुमा चाहिँ प्रचार प्रसारका कार्यक्रमलाई निरन्तरता दिन सकिने आयोगले जनाएको छ ।
आयोगले पहिलो चरणमा चुनाव हुने जिल्लाका मतदाताहरुलाई प्रभाव पर्ने गरी कुनै पनि समाचारजन्य सामग्रीहरु प्रकाशन तथा प्रशारण नगर्न अयोगले सञ्चार माध्यमलाई समेत आग्रह गरेको छ ।
आयोगले मौन अवधिको समयमा निम्न कामहरु गर्न नपाइने जनाएको छ ।
- प्रचार प्रसार गर्न र मत माग्न नपाइने
- मौन अवधि शुरु हुनुभन्दा नै मतदान केन्द्रको ३ सय मिटर नजिकमा पर्ने ठाउँमा राखिएका प्रचार
प्रसार जन्य सामग्री हटाउने
- एसएमएस, फेसबुक र भाइवर जस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न वा प्रचार गर्न नपाइने
- उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै पनि समाचार प्रशारण तथा प्रकाशन गर्न नपाइने