१५ असार २०८३, सोमबार

अदालत पुग्यो ग्रामथानको विवाद, एक तिहाइ सदस्यको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

फागुन १४, २०८१
विराटनगर
अदालत पुग्यो ग्रामथानको विवाद, एक तिहाइ सदस्यको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको विवाद अदालतसम्म पुगेको छ । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले ठेकेदारको बद्मासी रोक्नेगरी गरेको निर्णयविरुद्ध गाउँपालिकाकै उपाध्यक्ष गुणवतीदेवी थारूसहित कार्यपालिका सदस्यले अदालतमा रिट दायर गरेका हुन् । अध्यक्ष माझी माओवादी र उपाध्यक्ष थारू एमालेबाट निर्वाचित भएका थिए ।

गत माघ ३० गते बसेको कार्यपालिका बैठकले लोहन्द्रा खोलाको ठेक्कामा मिलेमतो गरेको पाइएपछि ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का आह्वान गर्नेसहितका निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उपाध्यक्ष थारूसहित केही कार्यपालिका सदस्यले ४ फागुनमा उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा उच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

१५ सदस्यीय कार्यपालिकामा अध्यक्ष माझी अल्पमतमा छन् । उनले  माघ २९ गते बैठक बोलाएका थिए । तर, कोरम नपुगेपछि ३० गते एक चौथाई सदस्यको उपस्थितिमा बैठक बोलाएर निर्णय गरिएको थियो । 

स्थानीय सरकार सञ्चालन ऐनमा पहिलो बैठकमा कोरम नपुगेमा अर्को बैठकमा एक चौथाइले कोरम पुग्ने व्यवस्था छ । ऐनअनुसार नै आफूले बैठक बोलाएको अध्यक्ष माझीले बताए । 

एक चौथाई सदस्यको उपस्थितिमा भएको बैठकले गरेको लोहन्द्रा खोलाको ठेक्का खारेज गरी ठेकेदारलाई कालोसूचीमा राख्ने र नयाँ ठेक्का लगाउने निर्णय खारेज गर्न अदालतमा रिट दायर गरिएको थियो । अध्यक्ष माझीले गणपूरक संख्या नै नपुर्‍याई आफूखुसी निर्णय गरेको भन्दै उपाध्यक्ष गुणवतीदेवी थारूसहितले अदालतमा रिट दायर गरेका थिए । 

रिटमाथि फागुन ५ मा भएको सुनुवाइपछि न्यायाधीश राजेन्द्र अधिकारीले विपक्षी माझीका नाममा कारण देखाऊ आदेश दिएको थियो । सोमबार भने न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र राजेन्द्र अधिकारीको संयुक्त इजलासले कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले कार्यपालिका बैठकको लागि कार्यसूची, मिति, समय र स्थानका सम्बन्धमा कम्तीमा तीन दिनअगावै कार्यपालिका एवं सदस्यलाई सूचना दिनुपर्नेमा २ दिन अगाडि मात्र सूचना दिएको भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । 

गाउँपालिकाका अनुसार लोहन्द्रा खोला ठेक्काका लागि यसअघि आह्वान भएको बोलपत्र चार वटा कम्पनीले भरेका थिए । अधिकतम् कबोल गर्नेलाई पालिकाले ठेक्काका लागि बोलाउँदा नआएपछि दोस्रो र तेस्रो बढी कबोल गर्नेलाई बोलाएको थियो । तेस्रो समेत नआएपछि उनले कारवाही गर्ने निर्णय गराएका थिए । 

जय माँ काली निर्माण सेवा कटहरीले ३ करोड १५ लाख रुपैयाँमा खोलाको ठेक्का पाएको थियो । तर, उक्त कम्पनी सम्झौता गर्न नआएपछि दोस्रो रकम २ करोड ७१ लाख कबोल गर्ने डीएनएस ब्रदर्श कन्स्ट्रक्सन एन्ड सप्लायर्स पालिकाले सम्झौता गर्न बोलाउँदै जय माँ काली निर्माण सेवालाई ४४ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

डीएनएस ब्रदर्श पनि सम्झौता गर्न नआएपछि पालिकाले तेस्रो रकम २ लाख ६७ लाख कबोल गर्ने एनपी निर्माण सेवा सुन्दरहरैचा ४ लाई सम्झौताको लागि बोलाउँदै डीएनएसलाई ४ लाख जरिवाना गर्ने निर्णय गरेको थियो । 

स्रोतका अनुसार ठेकेदारबीच मिलेमतो भएकोले तेस्रो ठेकेदार पनि सम्झौता गर्न नआएका हुन् । चौथो कम्पनीले भने १ करोड ३० लाख मात्र कबोल गरेको थियो । चौथोले न्युन रकम कबोल गरेकोले उसलाई सम्झौता गर्न नबोलाई पहिलो, दोस्रो र तेस्रो तीनवटै कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्ने निर्णय गरेको अध्यक्ष माझीको दाबी छ । 

अध्यक्ष माझीले ३० गते गरेको अर्को निर्णय बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गर्ने रहेको थियो । संघीय सरकारको सशर्त अनुदानतर्फको २ करोड ७५ लाखको बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन असोजमै हुनुपर्नेमा अझै शुरू हुन सकेको छैन । 

पालिकामा अध्यक्ष माझी र उपाध्यक्षबीचको सम्बन्ध भने खासै राम्रो छैन । २९ गतेको कार्यपालिका बैठकमा उपाध्यक्ष थारू उपस्थित भए पनि माइन्युटमा हस्ताक्षर नगरी हिँडेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्