
२४० मिलियन डलर अर्थात ६६ अर्ब भन्दा बढी पाकिस्तानी रुपैयाँमा एक वर्षअघि निर्माण भएको ग्वादरस्थित एयरपोर्टमा अहिले जहाज र यात्रु दुवै छैनन् ।
कुनै यात्रु नदेखिने र कुनै विमान नउड्ने पाकिस्तानको सबैभन्दा नयाँ र महङ्गो विमानस्थल अहिले एक रहस्य बनेको छ ।
चीनले निर्माण गरेको पाकिस्तानको यो विमानस्थल कहिलेदेखि सञ्चालनमा आउने हो, त्यसको अत्तोपत्तो नभएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
ग्वादरमा निर्माण गरिएको एयरपोर्टको डिजाइन नेपालको पोखरा इन्टरनेसनल एयरपोर्टसँग मिल्दोजुल्दो देखिन्छ ।
चीनको लगानी र प्रभाव
सन् २०२४ को अक्टोबरमा निर्माण सम्पन्न भएको पाकिस्तानको तटीय शहर ग्वादरमा अवस्थित यो विमानस्थल वरिपरि गरिब र अशान्त दक्षिण-पश्चिम बलुचिस्तान प्रान्त छ ।
पछिल्लो एक दशकदेखि चीनले बलुचिस्तान र ग्वादरमा अरब सागरसँग जोड्ने चीन-पाकिस्तान आर्थिक कोरिडोर(सीपीईसी) नामक मल्टिबिलियन डलर परियोजनाका रूपमा पश्चिमी सिन्जियाङ प्रान्तलाई जोड्न ठूलो धनराशी लगानी गरेको छ ।
पाकिस्तानी अधिकारीहरूले यस आयोजनालाई 'परिवर्तनकारी' भनेका छन्, तर ग्वादरमा परिवर्तनको कुनै प्रमाण देखिएको छैन । उक्त शहर विद्युत प्रसारणको राष्ट्रिय ग्रिडसँग जोडिएको छैन । त्यहाँ छिमेकी देश इरानबाट विद्युत आपूर्ति गर्नुपर्ने बाध्यता छ भने पर्याप्त स्वच्छ पानी पनि छैन ।
४ लाख यात्रु क्षमता भएको विमानस्थल बनेको शहरमा भने जम्मा ९० हजारको जनसंख्या छ ।
'यो विमानस्थल पाकिस्तान वा ग्वादरका लागि होइन,' पाकिस्तान-चीन सम्बन्धमा विशेषज्ञता राख्ने अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ अजीम खालिदले भने, 'यो चीनका लागि हो, ताकि उनीहरूले आफ्ना नागरिकलाई ग्वादर र बलुचिस्तानमा सुरक्षित पहुँच प्रदान गर्न सकून् ।'
सीपीईसीले दशकौंदेखि स्रोत-सम्पन्न र रणनीतिक रूपमा अवस्थित बलुचिस्तानमा अस्थीरता उत्पन्न गरेको छ ।
स्थानीय बासिन्दाको हितलाई वेवास्ता गरेर राज्यले शोषण गरेको भन्दै पृथकतावादीहरू स्वतन्त्रताका लागि लडिरहेका छन् । त्यहाँ पृथकतावादीहरूले अहिले पाकिस्तानी सेना र चिनियाँ कामदार दुवैलाई निशाना बनाइरहेका छन् ।
पाकिस्तानको जातीय बलोच अल्पसंख्यकहरूले सरकारबाट भेदभाव भएको र देशका अन्य ठाउँहरूमा उपलब्ध अवसरहरूबाट वञ्चित गरिएको आरोप लगाएका छन् । तर, यी आरोपहरूलाई सरकारले अस्वीकार गर्ने गरेको छ ।
पाकिस्तानले चिनियाँ लगानीलाई हदैसम्म संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । त्यही प्रतिबद्धताअनुसार पाकिस्तानले असन्तुष्ट समूहसँग लड्न ग्वादरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
ग्वादरमा जताततै चेकपोइन्ट, काँडेतार, सैनिक, ब्यारिकेड र वाच-टावर बनाइएको छ । चिनियाँ कामदार र पाकिस्तानी विशिष्ट व्यक्तिको सुरक्षित आवागमनको लागि त्यहाँका सडकहरू प्रायः बन्द गरिन्छन् ।
पाकिस्तानका खुफिया अधिकारीहरूले ग्वादर भ्रमण गर्ने पत्रकारमाथि पनि कडा निगरानी गर्छन् । ग्वादरको माछा बजारलाई पाकिस्तानले आफ्नो सुरक्षाका लागि अति संवेदनशील मानेको छ ।
पाकिस्तानको यो रवैयाका कारण स्थानीय बासिन्दाले धेरै गुनासो गर्ने गरेका छन् ।
'पहिला कसैले पनि हामी कहाँ जाँदैछौं, के गर्दैछौं भनेर सोध्दैनथे,' ७६ वर्षीय ग्वादर निवासी खुदा बख्श हाशिमले भने, 'हामी पहाड वा ग्रामीण क्षेत्रहरूमा रातभरि पिकनिक मनाउँथ्यौं ।'
अहिले उनीहरूको नाम, काम र अन्य धेरै कुरा सोधेर सुरक्षाकर्मीहरूले तनाव दिने गरेका छन् । हाशिम भन्छन्, 'हामी यहींका बासिन्दा हौं तर, सुरक्षाकर्मीलाई सधैं आफ्नो पहिचान दिनुपरेको छ ।'
जतिबेला ग्वादर पाकिस्तानको नभई ओमाननियन्त्रित भू-भाग हुने गर्थ्यो त्यतिबेला त्यो ठाउँ मुम्बई जाने पानीजहाजको बिसौनी रहेको हाशिमले सम्झिए ।
'त्यतिबेला अहिलेजस्तो मानिसहरू भोकै सुत्दैनथे र पुरुषहरूले सजिलै काम पाउँथे,' हाशिम स्मरण गर्छन्, 'खानलाई सधैं केही न केही थियो र पिउने पानीको कुनै कमी थिएन ।'
तर ग्वादरको पानी यतिबेला अनियन्त्रित शोषणका कारण सुकेको छ । त्यस्तै रोजगारी पनि सुक्दै गएको छ ।
सरकारले सीपीईसीले करिब २ हजार स्थानीय रोजगारी सिर्जना गरेको दाबी गरेको छ तर बलुचिस्तानका बासिन्दाहरूले रोजगारी नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेइरहेका छन् ।
ग्वादरमा चीनको उपस्थितिबाट स्थानीयलाई लाभ भन्दा हानी धेरै
ग्वादर सामान्य तर आकर्षक भू-गोल हो । त्यहाँको खाना स्वादिष्ट र उत्कृष्ट हुन्छ भने स्थानीयहरू अपरिचितसँग कुराकानी गर्न र स्वागत गर्न रुचाउँछन् ।
तैपनि, यतिबेला त्यहाँ भ्रमण गर्न निकै खतरनाक मानिन्छ । ग्वादरको परम्परागत घरेलु विमानस्थलबाट जम्मा एउटा व्यावसायिक मार्ग सञ्चालन हुन्छ । त्यहाँबाट हप्तामा तीन पटक पाकिस्तानको सबैभन्दा ठूलो शहर कराँची उडान हुन्छ ।
सयौं मेल भित्र रहेको बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा पाकिस्तानको राजधानी इस्लामावादबाट सिधा हवाई उडान छैन । रमणीय रहे पनि तटीय राजमार्गमा थोरै सुविधा मात्र उपलब्ध छन् ।
यसअघि फैलिएको बलोच विद्रोहपछि प्रान्तमा हजारौं मानिसहरू बेपत्ता भएका छन् । जो कोहीले पनि शोषण वा उत्पीडनको विरुद्ध बोल्छ, उसलाई हिंसात्मक समूहहरूसँग सम्बन्ध राखेको आशंकामा पक्राउ गरिने स्थानीयको गुनासो छ ।
हाशिम सीपीईसी सफल होस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् । त्यहाँका स्थानीयले रोजगारी प्राप्त गरूँ भन्ने चाहन्छन् तर यथार्थमा त्यस्तो छैन ।
'जब कसैसँग खानका लागि केही हुन्छ, तब उसले किन गलत बाटो रोज्छ,' उनले भने, 'मानिसहरूलाई अप्ठ्यारोमा पार्नु राम्रो कुरा होइन ।'
पाकिस्तान इन्स्टिट्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिजका अनुसार २०१४ को सरकारी काउन्टर-इन्सरजेन्सी पछि बलुचिस्तानमा उग्रवादी हिंसा घट्यो र दशकको अन्त्यतिर अवस्था स्थीर भयो ।
तर सन् २०२१ पछि त्यहाँ सुरक्षा संवेदनशीलता बढेको छ । स्थानीयमाथि निरन्तर आक्रमण भएको छ । नोभेम्बर २०२२ मा पाकिस्तानी तालिबानले सरकारसँगको युद्धविरामको अन्त्य गरेपछि उग्रवादी समूह उत्साहित भएको छ ।
उद्घाटनमा ढिलाई
सुरक्षा संवेदनशीलताका कारण अहिले बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा ढिलाई भएको थियो । त्यहाँ वरिपरी रहेका पहाडबाट विमानस्थलमाथि आक्रमण हुन सक्ने डर अहिलेसम्म कायमै रहेको छ ।
भौतिक रूपमा उपस्थित भएर विमानस्थलको उद्घाटनको सट्टा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र उनका चिनियाँ समकक्षी ली खच्याङले भर्चुअल समारोह आयोजना गरे । उद्घाटन उडान मिडिया र जनताको लागि बन्द गरियो ।
बलुचिस्तान आवामी पार्टीका जिल्ला अध्यक्ष अब्दुल गफुर होथले त्यहाँका एक जना बासिन्दालाई पनि विमानस्थलमा काम गर्न दिइएको थिएन ।
'हामीलाई चौकीदारका रूपमा पनि त्यहाँ काम गर्न राखिएन,' उनले भने, 'अन्य रोजगारीहरू छोडौं, सीपीईसीका लागि निर्माण गरिएको यस बन्दरगाहमा पनि निकै कम बलोच मानिसहरू छन् ।'
गत डिसेम्बरमा होथले ग्वादरबासीको जीवनयापनको अवस्थाबारे दैनिक विरोध प्रदर्शन आयोजना गरेका थिए । अधिकारीहरूले स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उक्त विरोध प्रदर्शन ४७ दिनपछि रोकिएको थियो ।
त्यसयता ती मागहरू कार्यान्वयन गर्ने दिशामा कुनै प्रगति भएको छैन ।
अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ खालिदका अनुसार स्थानीय श्रम, सामान वा सेवाबिना, सीपीईसीमा कुनै प्रगति हुन सक्दैन ।
'जसरी चिनियाँ पैसा ग्वादरमा आयो, त्यसैगरी कडा सुरक्षा संयन्त्र पनि आयो जसले धेरै बाधा सिर्जना गर्यो र अविश्वास बढायो,' खालिदले भने, 'पाकिस्तानी सरकार बलोच जनतालाई केही दिन इच्छुक छैन र बलोच पनि सरकारबाट केही लिन इच्छुक छैनन् ।'