२८ जेठ २०८३, बिहीबार

एकसाथ तीन चलचित्र प्रदर्शनमा

फागुन १५, २०८१
काठमाडौं
एकसाथ तीन चलचित्र प्रदर्शनमा

महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन शुरू भएको छ । 

नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र प्रदर्शन भएका हुन् । 

केही चलचित्रले सार्वजनिक प्रदर्शन अगाडि आयोजित विशेष प्रदर्शनीमार्फत सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन् । 

‘लाज शरणम्’लाई हास्य टेलिशृङ्खला ‘सक्किगोनी’को समूहले निर्माण गरेको हो । कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन् ।  

यस चलचित्रलाई प्रदर्शकले उत्साहजनक रूपमा ‘शो’ सङ्ख्या उपलब्ध गराएका छन् । निर्देशक कट्टेलले शृङ्खलामार्फत दर्शकबाट प्राप्त गरेको विश्वासलाई बढाउने काम चलचित्रमा गरेको बताए । 

चलचित्र ‘फेरि रेशम फिलिली’मा युवापुस्तामा बढो विदेश मोहलाई व्यङ्ग्य गरिएको छ । लेखक तथा निर्देशक निरोज महर्जनले मनोरञ्जनात्मक शैलीमा चलचित्रभित्र गम्भीर विषयलाई प्रस्तुत गरिएको जानकारी दिए। 

चलचित्रमा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्र ‘मायावी’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । प्रेम कथामा तयार भएको यस चलचित्रमा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्सु महर्जन, नवअभिनेता समीम खानलगायत कलाकारले अभिनय गरेका छन् । 

निर्देशक भट्टराईले बनिरहेका नियमित चलचित्रभन्दा ‘मायावी’ फरक प्रेम कथामा तयार भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्