३२ असार २०८३, बिहीबार

शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा

फागुन १५, २०८१
बुटवल
शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय वृहत् आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शक्ति प्रदर्शन गर्न लागिएको हो । 

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले सातै प्रदेशमा पार्टीले आयोजना गरेको कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्नेछन् । 

ट्राफिक चोकमा गरिने सभामा हजारौं नागरिकको सहभागिता हुने राप्रपाको दाबी छ । सातै प्रदेशका मुख्य शहरमा सभा गर्ने राप्रपाले गएको माघ ११ गतेको बैठकबाट निर्णय गरेको थियो । 

‘मुलुकले निकास खोजेको छ, अब मुलुकमा नयाँ समझदारी नगरे देश खतरामा पर्ने संकेत देखिएका छन्’ उदयले भने, ‘छिमेकी देशमा जस्तो अवस्था हाम्रोमा पनि नआउला भन्न सकिन्न । देशमा नयाँ समझदारी गर्न, हाम्रो आवश्यकता देखाउने हाम्रो जनसभाको उद्देश्य हो ।’ 

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन देश बचाउनका लागि भएको राप्रपाले ठहर गरेको अध्यक्ष उदयको भनाइ छ । 

राप्रपाका केन्द्रीय सल्लाहकार तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले मुलुकको अवस्था र परिस्थिति नियाल्दा अशान्त देखिएको बताए । ‘देशमा अभिभावकीय राजसंस्था चाहिन्छ, प्रदेश खारेज हुनुपर्छ, हिन्दू राष्ट्र कायम गरिनुपर्छ । यति नगर्दासम्म देश उँभो लाग्दैन’ थापाले भने । 

salt training

कमेन्ट गर्नुहोस्