
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यक्षमता मूल्याङकनमा शून्य अंक दिइएकोबारे प्रतिपक्षी दलले सरकारको जवाफ माग गरेका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा विपक्षी दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई स्पष्टिकरण सोधिएकोबारे सरकारको जवाफ माग गरेका हुन् ।
‘कुलमानलाई निरन्तर स्पष्टिकरण सोध्ने कुरा के हो ? मूल्याङ्कनमा शून्य अंक किन दिइएको हो ? यसबारे सरकारलाई रूलिङ गर्न माग गछौं,’ उनले भने ।
उनले सरकारलाइ रुलिङ नगर्दासम्म विपक्षी दलको विरोध कायम रहने बताएपछि सभामुखले विपक्षीको कुरा सुनेको बताएका थिए । त्यसपछि उठेर विरोध जनाएका विपक्षी सांसदहरू बसेका थिए ।
‘सरकारको मन्त्रालयको मूल्याङ्कनको अवस्था नहेर्ने, विद्युत प्राधिकरणका कार्यकारीलाइ शून्य अंक दिएको किन ?’ पाण्डेले प्रश्न गरे । बैठकको शुरूमा माओवादी, रास्वपा, राप्रपालगायत विपक्षी सांसदले उठेर सभामुखसँग समय माग गरेका थिए ।