१० असार २०८३, बुधबार

२ अर्ब लगानीमा आईएमई ग्रुपले सञ्चालनमा ल्यायो कागज उद्योग, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

फागुन २२, २०८१
काठमाडौं
२ अर्ब लगानीमा आईएमई ग्रुपले सञ्चालनमा ल्यायो कागज उद्योग, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आईएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे ।

उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरणमैत्री क्याल्सीयम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे । 

२ अर्ब रूपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिकस्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन शुरू गरेको आईएमई ग्रुपले जनाएको छ । 

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्ने ग्रुपको विश्वास छ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आईएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभएर नेपालको औद्योगिक यात्रामै नवजागरणको रूपमा लिएको बताए । 

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रूपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे । 

उद्योगहरू बन्द हुने, लगानीकर्ता पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरू जानुपर्ने बाध्यतालाई कम गर्नुपर्ने बताए । यसका लागि नयाँ उद्योग खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सिर्जना गर्न आईएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्त्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे। 

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले प्रत्यक्ष रूपमा ३०० बढी र अप्रत्यक्ष रूपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको समेत जानकारी गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसान समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई अवसर दिन थालेको छ ।

अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवर्द्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आमनेपाली जनताको सोंच तथा सपनासँगको हातेमालोको रूपमा लिन पनि आग्रह गरे । 

null

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रूपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानून निकै सहयोगीसिद्ध हुने विश्वास लिएको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानून निर्माणमा सरकारले निजी क्षेत्रका सुझाव सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे । 

‘स्वदेशी होस् या विदेशी होस् लगानीकर्ताले फिल्डमा काम भए/नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ-नयाँ ठूला आयोजनाहरू वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैं लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिनेछ’, अध्यक्ष ढकालले भने । 

सो अवसरमा अध्यक्ष ढकालले पाथीभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको समेत उल्लेख गरे । 

ताप्लेजुङका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथीभरामा केबलकारको निर्माण परियोजना शुरू गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लावासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए  । 

पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारभरि पुग्दा त्यसले विश्वका लगानीकर्तामा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए ।

बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन् गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरूलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरूलाई उपयोग गर्दै समृद्धितर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान समेत गरे । 

सबै राजनितिक दलका नेता, सबै संघसंस्थाका नेतृत्व वर्गलाई  पूर्वाधार विकास, रोजगारी सृजना, आमनागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोत सृजना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता पनि अध्यक्ष ढकालले औंल्याए ।

पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनीति नगर्न र पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने रोजगारी सृजना हुने, राजश्व वृद्धि हुने हो र मुलुक सम्मृद्ध हुनेमा कसैको दुईमत नरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

‘पहिलो,राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने  र तेस्रो, मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी  गर्ने । रेमिटेन्स, बैंक, बीमा, सूचना प्रविधि जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् ।  यस कारखानाले प्राथमिकता पूरा गर्न सक्दछ’, अध्यक्ष ढकालले भने । 

salt training

कमेन्ट गर्नुहोस्