१७ असार २०८३, बुधबार

नयाँ बजेट तयारी : बिहीबार शहरी र ऊर्जा मन्त्रालयसँग छलफल

फागुन २२, २०८१
काठमाडौं
नयाँ बजेट तयारी : बिहीबार शहरी र ऊर्जा मन्त्रालयसँग छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी बिहीबार शहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह  गरेका हुन् । 

उनले संघीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्न जरुरी नरहेको बताए । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र संघीयताको अभ्यास बलियो हुने उल्लेख गरे ।

उनले तयारीमा रहेका आयोजनाको कार्यान्वयन  र आगामी दिनमा आवश्यक पर्ने महत्त्वपूर्ण आयोजनाको तयारीमा ध्यान पुर्‍याउन मन्त्रालयहरूलाई अनुरोध गरे । 

अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत् पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्र खुला गर्ने धारणा राखे । 

अहिलेको संसद्‌मा यो भन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैभन्दा बलियो सरकार भएकाले सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ बजेट बनाउने बताए । 

शहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुख थिए भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जा मन्त्री दीपक खड्का, सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्