
कर्मनासा खोलाको सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको भन्दै आयोगले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।
यूरो हाउजिङ्ग डेभलपर्स प्रालि,यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुनीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरले कर्मनासा खोलाको सार्वजनिक जग्गा लिनेखाने गलत मनसायले आफ्नो कम्पनीको नाममा सो खोला आसपासका जग्गाहरू खरिद गर्न टायल चेकको निवेदन दिएको र पछि जग्गाको क्षेत्रफल बढाएको आयोगले जनाएको छ ।
नापी कार्यालय, ललितपुरले टायलचेक गर्दा निवेदनमा उल्लेख भएको जग्गामा सरकारी, सार्वजनिक, ऐलानी, पर्ती जग्गा पर्दैन भनी टायल चेक गरी २०६४ कात्तिक २२ गतेको पत्र समेत मालपोत कार्यालय, ललितपुरलाई पठाइएको र टायलचेक गरी यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीको नाममा रहेको जग्गाको टायल चेकबाट जम्मा क्षेत्रफल ५-९-०-० जग्गा र यूरो ल्याण्ड डेभलपर्स प्रालिको नाममा रहेको जग्गाको क्षेत्रफल ४-१२-०-२ जग्गा बढ कायम गरी बढ कायम भई आएको जग्गाको लाग्ने नियमानुसार राजश्व, मालपोत र सेवा दस्तुर समेत असुल गर्नू भनी मिति २०६४ मंसिर २० मा मालपोत कार्यालय, ललितपुरबाट निर्णय समेत भएको मालपोत कार्यालय ललितपुरबाट प्राप्त छुट्टाछुटै तामेली मिसिलहरूबाट देखिएको आयोगको दाबी छ ।
विशेष अदालतले २०८० माघ १५ को फैसलाबाट आंशिक सफाइ दिएकाले त्यसउपर चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।