
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको कारखानामा आगलागी भएको हो ।
प्रहरी वृत्त बालाजु तथा थानकोट र प्रभागबाट खटिएको ३२ जनाको टोलीले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको छ । तर, क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन सातवटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए ।
आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।