०७ असार २०८३, आइतबार
राजावादीको सक्रियताबारे सरकारका प्रवक्ता

'अरू देशमा व्यवस्था ढलेपछि राजाको परिवार जेल बस्नु पथ्र्यो, सम्पत्ति हरण हुन्थ्यो'

फागुन २३, २०८१
काठमाडौं
'अरू देशमा  व्यवस्था ढलेपछि राजाको परिवार जेल बस्नु पथ्र्यो, सम्पत्ति हरण हुन्थ्यो'

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले नेपालमा उदार लोकतन्त्र भएका कारण पूर्वराजाको परिवारले सुरक्षा पाएको बताएका छन् । पूर्वराजावादी मच्चिँदैमा नेपालमा राजतन्त्र नफर्कने उनले बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता गुरुङले राजतन्त्र फर्किने कुरा जन्मिसकेको बच्चा गर्भमा फर्केजस्तै भएको टिप्पणी गरे । 

‘यो मुलुकमा उदार लोकतन्त्र भएर हो, अरू मुलुकमा भए जनतालाई दुःख दिने (राजा)को परिवार नयाँ व्यवस्था आएपछि जेलमा बस्नु पर्ने हो, सम्पत्ति हरण हुनुपर्ने हो’ मन्त्री गुरुङले भने, ‘नेपालमा सुरक्षाको प्रबन्ध गरेर नागार्जुनमा राखेका छौं, व्यवस्थाप्रति कटाक्ष गर्दै फेरि फकिन्छु भन्ने हर्कत गरेको छ । पूर्वराजाले हैसियत भूलेको हो । उदार प्रबन्धलाई बिर्सेको हो ।’ 

पछिल्ला दिनमा राजावादीको सक्रियता बढेकोबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री गुरुङले राजावादी मच्चिँदैमा राजतन्त्र नफर्किने बताए । 

‘राजा आऊ देश बचाऊ भन्नेलाई प्रश्न छ, राजाले कसरी देश बचाउँछन् ? कुन देश राजाले बचाएको छ ? आफ्नो परिवारको रक्षा गर्न नसक्ने राजसंस्थाले देशको रक्षा गर्छ ?’ उनले भने, ‘राजावादी मच्चिँदै हिँड्दै फर्किने होइन । राजतन्त्र फर्किने कुरा जन्मेको बच्चा आमाको गर्भमा फर्किने कुराजस्तै हो, असम्भव हो ।’ 

पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार काठमाडौं फर्किने तयारी गरिरहँदा राजावादीले विमानस्थलमा स्वागतको तयारी गरेका छन् । यहीबेला सरकारका प्रवक्ताको उक्त टिप्पणी आएको हो ।

कमेन्ट गर्नुहोस्