राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले विगतमा सेरेमोनियल र बेबी किङको पक्षमा रहेकाहरू सत्ताको नेतृत्वमा रहेका बेला राजावादीको भूत सल्बलाउन थालेको टिप्पणी गरेका छन् ।
माओवादीले गणतन्त्रको कुरा गर्दा बयलगाडाबाट अमेरिका पुग्नुजस्तै हो भन्नेहरू सत्ताको नेतृत्वमा रहेको समयमा राजावादीको सल्बलाहट बढ्नु फगत संयोग मात्र हुन नसक्ने उनको टिप्पणी छ ।
आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद आले मगरले नेपाली जनताले राजतन्त्र झेलिसकेकाले फेरि नेपालमा राजतन्त्र आउने कुरा असम्भव रहेको बताए ।
‘राजतन्त्र झेलिसकेको व्यवस्था हो, गणतन्त्रका कमीकमजोरी होलान् । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । यसको सट्टामा राजतन्त्र ल्याएर विकास र समृद्धि आउँदैन,’ सांसद आलेले भने ।
गणतन्त्र स्थापना गर्न हिच्किचाहट गरेका नेताहरू सत्ताको बागडोरमा रहेका बेला राजतन्त्रको भूत सल्बलाउनु अनौठो भएको उनले टिप्पणी गरे ।
‘माओवादीले गणतन्त्र ल्याउने कुरा गर्दा खिसिट्युरी गर्ने, बेबी र सेरेमोनिल किङको कुरा गर्ने, गणतन्त्र ल्याउनुपर्छ भन्दा बयलगाढा ढचेर अमेरिका पुगिन्न भनेर खिसिट्युरी गर्नेहरू राज्यसत्ताको बागडोरमा भएका बेला राजतन्त्रको भूतप्रेत सल्बलाउने कुरा फगत संयोग हो ?’ उनले प्रश्न गरे ।
बयलगाढा चढेर अमेरिका पुगिन्न भन्दै खिसिट्युरी गर्ने भनेर सांसद आलेले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका हुन् ।
बैठकमा सांसद आलेलगायतले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाए ।