
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताएका छन् ।
आज कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै उनले आगामी जेठ ३–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तोकिएकै समयमा हुने बताए ।
“अब यो पुगेन, त्यो भएन, तलमाथि केही गर्न र भन्न पाइने छैन । आजकै दिनबाट सातै प्रदेशका मन्त्री तथा सदस्यसचिवलगायतलाई तोकिएको समयमा खेल हुने पत्र पठाइनेछ । यद्यपि कार्य सहजताका लागि कर्णाली प्रदेशको सदस्यसचिव जतिसक्दो चाँडो नियुक्त गर्न आवश्यक छ”, मन्त्री चौधरीले भने ।
प्रदेशले राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गरेको कर्णाली प्रदेश रङ्गशालाका लागि मन्त्री चौधरीले पूर्व तथा बहालवाला मुख्यमन्त्रीलाई धन्यवाद दिए ।