
बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नी क्यानडाको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । क्यानडाको सत्तारूढ लिबरल पार्टीले कार्नीलाई नयाँ नेता चयन गरेसँगै उनी आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् । उनले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् ।
कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति क्यानडाको प्रधानमन्त्री बन्न लागेको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
जस्टिन ट्रुडोले सोमबार क्यानडाका प्रधानमन्त्रीको रूपमा आफ्नो अन्तिम भाषण गरेका थिए ।