
विरासत जोगाउने र भत्काउने होडमा पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पेचिलो बनेको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त विद्यालयमा आज मंगलबारका लागि स्ववियुको निर्वाचन तोकिएको थियो । जसअन्तर्गत पोखरामा पृथ्वीनारायण (पीएन) क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा स्ववियुको नेतृत्व चयनका लागि निर्वाचन हुनुपर्ने थियो ।
राजनीतिमा बलियो नेता उत्पादन गर्ने क्याम्पसका रूपमा चिनिएको पृथ्वीनारायण क्याम्पसमै मतको विषयले विवाद शुरू भयो । अखिल छैटौँको उम्मेदवारको नाम मतपत्रमा भएपनि मतपत्रको कोष्ठकमा छुटेपछि विद्यार्थीले विरोध गरे । दिनभर पीएन क्याम्पस अगाडिको माहोल अशान्त बन्यो । त्यसपछि निर्वाचन नै स्थगित भयो ।
क्याम्पसका निर्वाचन अधिकृत प्राडा. रामचन्द्र पोखरेल भोलि बिहान ८ बजेदेखि गर्नेगरी मंगलबार निर्वाचन स्थगित भएको जानकारी दिए ।
स्वतन्त्रबाट पीएनको सभापति पदमा उम्मेदवार रहेकी विप्लवी न्यौपानेले पार्टीका कार्यकर्ता निर्वाचनबाट डराएको प्रतिक्रिया दिइन् ।
‘अबको निर्वाचनमा कार्यकर्ता होइन, विद्यार्थी उठ्ने माहोल तयार गर्दैछौं । र, विश्वविद्यालयलाई सोच्ने थलोको रूपमा विकास गर्दैछौं । यसकारण यी सम्पूर्ण एजेण्डाबाट यिनीहरूको गोजी रित्तिनेवाला छ’, विप्लवीले भनिन्, ‘यिनीहरूको खल्तीका मान्छे रित्तिनेवाला छन् । यिनीहरूले दिने भनेर आवश्वासन लगाएका जागिरमा मान्छेहरू वञ्चित हुनेवाला छन् । त्यसकारण यिनीहरू डराएका छन् ।’
दलीय राजनीतिको किल्ला भत्किने डरमा नियतशस मतपत्रमा त्रुटि गरिएको उनको दाबी छ । ‘निर्वाचन समितिले अखिल छैठौँको कोष्ट नराखिकन निकालेको छ । पृथ्वीनारायण क्याम्पस जति पनि पार्टीका कार्यकर्ता प्राध्यापक छन्, उनीहरूलाई निर्वाचन चाहिएको छैन । दलीय राजनीतिकको किल्ला भत्किन्छ कि भन्ने डर उनीहरूलाई छ’, उनले भनिन् ।
यता, पश्चिमाञ्चल इन्जिनियरिङ क्यापसमा भने विवादकैबीच मतदान शुरू भयो । निर्वाचनको अघिल्लो दिन नेविसंघले क्याम्पस गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो ।
सचिव पदको उम्मेदावरी विवाद हुँदा उनीहरू विरोधमा उत्रिएका हुन् । नेविसंघभित्र नै भएको आन्तिरक विवादले निर्वाचन समितिले सचिवको मनोनय फारम स्वीकृत गर्न मानेनन् । नेविसंघबाट सचिव पदमा कुशल सापकोटा र प्रशान्त जोशी आकांक्षी थिए । यी दुईबीच मतभेद हुँदा सापकोटा पक्षले जोशीको मनोनय पत्र च्यातिदिएका थिए । जोशीले सोही पत्र निर्वाचन समितिलाई बुझाए । समितिले त्यसलाई खारेज गर्यो ।
नेविसंघका विद्यार्थीले क्याम्पसको गेट अगाडि नै रिले अनसन गरेका थिए । जसकारण दिउँसो अबेरसम्म मतदानका लागि क्याम्पस भित्र प्रवेश गर्ने वातावरण थिएन । तर, वैकल्पिक गेट प्रयोग गरेर क्याम्पसमा मतदान भयो ।
‘बाहिर रिले अनसन थियो । अन्तिम अवस्थामा सुरक्षाकर्मीले विद्यार्थीलाई भित्र आउने वातारण बनाउनुभयो’, निर्वाचन अधिकृत दीपक थापाले भने ।
त्रिवि सम्बन्धनप्राप्त अर्को क्याम्पस जनप्रिय बहुमुखी क्याम्पस समेत मंगलबार निर्वाचन हुन सकेन । पोखरा नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा भने निर्वाचन भएको छ ।