
म्यानमारको यांगोनमा शुक्रबारदेखि 'नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५' आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा 'नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५' गर्न लागिएको हो ।
यस एक्सपोमा व्यापार, आईटी सफ्टवेयर र पर्यटन क्षेत्रमा सहकार्यका नयाँ अवसरहरूबारे छलफल हुने नेपाल पर्यटन बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्वमा शान्तिको प्रतिकका रुपमा रहेका गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा प्रचारप्रसार गर्ने र बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनी भ्रमणका लागि आह्वान गर्ने एक्सपोको मुल उद्देश्य रहेको छ । यसले दुवै देशबीच आध्यात्मिक र सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।बोर्डले जारी गरेको विज्ञिप्तिमा भनिएको छ,'यस एक्स्पोले नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा दीर्घकालीन सहकार्यका नयाँ द्वार खोल्ने हामीले अपेक्षा गरेका छौं ।'