०४ साउन २०८३, सोमबार

कोशीको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयमा माओवादीको विरोध

चैत ७, २०८१
विराटनगर
कोशीको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयमा माओवादीको विरोध

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको आलोचना गरेको छ। 

अधिवेशन अकस्मात् अन्त्य गर्ने निर्णयलाई माओवादीले ‘संसदीय परम्परा विपरीत’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो । 

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाद्वारा जारी विज्ञप्तिमा सरकारले अधिवेशनमा महत्त्वपूर्ण विधेयकहरू पारित गरिने बताएको भएपनि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ ।

‘आफैंले ल्याएको नीति, कार्यक्रम र बजेटको कार्यान्वयन निराशाजनक रहनुका साथै पूँजीगत खर्च तथा विपद्पछिको पुनर्निर्माणमा समेत सरकार असफल देखिएको तथ्य प्रदेशसभामा उठिरहेका थिए । यस्ता प्रश्नहरूको जवाफ दिनुको साटो सरकार संसदीय छलफलबाट भाग्न खोज्नु अत्यन्त खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ । 

माओवादीले सरकारप्रति जनताको विश्वास खस्कँदै गएको सन्दर्भमा, जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभालाई निष्क्रिय तुल्याउनु गम्भीर विषय भएको बताएको छ  ।

‘यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन, जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा असफल भएको देखिएको छ’, माओवादीले भनेको छ । 

विपक्षी दलका केही सांसदहरूले प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक दर्ता गरेका थिए । तर, तिनलाई प्राथमिकता नदिएको, प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई सम्बोधन नगरेको माओवादीको आरोप छ । 

माओवादीले सरकारको कार्यसम्पादन ‘निराशाजनक’ रहेको भन्दै अधिवेशनको अचानक अन्त्य गर्नु त्यसैको संकेत रहेको पनि टिप्पणी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्