
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचार र बेथितिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । सरकारको कार्यशैलीकै कारण राम्रा काम गर्नेहरूलाई हतोत्साहित बनेका उनको टिप्पणी छ ।
नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेश जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
२०८४ सम्म आफू प्रधानमन्त्री बन्ने होडमा नरहेको पनि उनले बताए ।
सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने उनको भनाइ छ ।
आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, 'सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।'
यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताएका थिए ।