
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जानकारी दिएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध घनिष्ट र सुमधुर रहिआएको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताए ।
'हामीले हाम्रा दुई मुलुकबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ,' उनले भने, 'दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैं गतिशीलता र गुणस्तर बढाएको छ ।'
उपराष्ट्रपति यादवले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिए ।