
राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीको उपचारको क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएको छ ।
उनको लिभरमा समस्या देखिएको थियो भने पछिल्लो समय जन्डिस पनि भएको थियो ।
प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपा नेपालले जनाएको छ ।
सङ्खुवासभा जिल्लामा २०१३ मा जन्मिएका उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।
उनको निधनमा दुख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरूमा ३ दिन झन्डा झुकाउने र १३ औँ दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।
स्वर्गीय अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।