
काठमाडौँ । सिरहामा दलितमाथि ज्यादती गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए ।
महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए ।
त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवलगायतले घर भत्काएका थिए । सो घटना सार्वजनिक भएसँगै दोषीमाथि कारबाही गर्न चौतर्फी दबाब छ ।