०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

ज्ञानेन्द्रप्रति देउवाको ‘फायर’देखि कोटिहोम विवाद मत्थरसम्म

चैत ११, २०८१
काठमाडौं
ज्ञानेन्द्रप्रति देउवाको ‘फायर’देखि कोटिहोम विवाद मत्थरसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाली कांग्रेसले राजावादीहरूको विरोध प्रदर्शनलाई लिएर आत्तिन नहुने निष्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले परिवर्तनका शक्ति र नयाँ दलसमेत परिवर्तित व्यवस्थाको पक्षमा रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।

परिवर्तनको मुद्दाका रूपमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नयाँ दलसँग टाढा नभएको प्रवक्ता डा प्रकाशशरण महतले बताए । यसैले तत्काल नै सडकमा उभिएर शक्ति प्रदर्शनको आवश्यकता नभएको निष्कर्ष कांग्रेसको छ ।

००००

पोखराको फेवाताल किनारमा हुने भनिएको ‘श्री गण्डकी कोटिहोम महायज्ञको’ स्थान परिवर्तन भएको छ । मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम सञ्चालन गर्ने भएपछि महानगरले शुरूआतदेखि नै तालछेउ उपयुक्त स्थान नभएको बताएपछि यो विषय विवादमा तानिएको थियो ।

कोटिहोमका लागि जथाभावी रूख काटिएपछि फाउन्डेसन र महानगरबीच शुरू भएको विवाद महिना दिनसम्म चलेको थियो ।

अब भने महानगरले राखेको प्रस्तावअनुसार कोटिहोम गर्नका लागि स्थान फेरबदल गर्ने विषयमा सहमति जुएको छ । जसअनुसार वडा नम्बर १७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको जग्गामा कोटिहोम गर्ने सहमति जुटेको हो ।

००००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहविरुद्ध सामाजिक सञ्जालमा लेख्दै चेतावनी दिएका छन् ।

कांग्रेसका वडा अध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन निवेदन दिएपछि बालेनले सामाजिक सञ्जालमार्फत मन्त्री सिंहमाथि आक्रोश पोखेका हुन् ।​
०००

एमालेका नेताहरूले चुनाव नगराउने बताएपछि प्रेस चौतारीको अधिवेशनमा चुनाव गराउन माग राख्दै प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । 

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको महाधिवेशनमा काठमाडौँबाट नै अध्यक्ष र महासचिव टुङ्ग्याएको भन्दै उनीहरूले चुनाव गराउन माग राख्दै हस्ताक्षर गरेका हुन् ।  ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए।​
००००

सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले चालु आर्थिक वर्षको भन्दा आगामी आवका लागि कम बजेट पाउने सम्भावना देखिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आव २०८२–८३ का लागि रु  १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गरेको छ ।
००००

सरकारले ल्याएका अध्यादेश प्रतिस्थापन विधेयकमाथिको छलफलमा सरकारका प्रवक्ताले धम्की दिएको भन्दै प्रतिपक्षी सांसदले संसद् बहिष्कारको चेतावनी दिएका छन् । सरकारका मन्त्रीले विपक्षीले काम नपाएर अध्यादेशको विरोध गरेको आरोप लगाएपछि विपक्षी सांसद आक्रोशित बनेका हुन् ।

आइतबारको राष्ट्रियसभा बैठकमा ‘सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’माथि उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश फूलको आँखामा फूलै संसार भनेजस्तै राम्रो मात्र रहेको दाबी गरेका थिए ।

००००

नेकपा एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।  

पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय संगठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा संघर्षका कार्यक्रममा सक्रिय ढंगले सहभागी हुन निर्देशन दिएको छ ।     

००००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बन्न सुझाव दिएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेकाले संवैधानिक राजा बन्नुभन्दा पनि राप्रपाको सभापति बन्न सुझाव दिएका हुन् ।

‘ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,’ उनले भने ।

००००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारका दिन आइतबार नेप्से ५३.०४ अङ्कले घटेर २६१६.२६ को विन्दुमा बन्द भएको हो । 

यस दिन बजारमा १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्