
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि आफूहरूसँग जोडिन लागेको बताएपछि यो विषयमा चासो व्यक्त हुन थालेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताको तयारी अगाडि बढिरहेका बेला रेशमले बाबुराम पनि आफूहरूसँग जोडिन लागेको बताएका हुन् ।
रेशमले भनेका थिए–
'प्रस्ट वक्ता र आदर्शवादी नेता हुनुहुन्छ, डाक्टर बाबुराम भट्टराई । रेशमजी तपाईं र सीके (सीके राउत)जी जोडिँदै जानुस्, म पछि–पछि आउँछु, हामीलाई वरीयता चाहिँदैन (भन्नुभएको छ) । देशको प्रधानमन्त्री भएको व्यक्तिले पार्टीभित्र प्रोटोकल र हैसियत खोज्नुभएन । यसकारण उहाँको उदारताको सम्मान गर्नुपर्छ ।'
सम्बोधनका क्रममा रेशमले राज्यले आफ्नो खुट्टामा नेल लगाएर अस्पतालको शय्यामा पुर्याउँदा त्यो नेल खोल्न बाध्य पार्ने व्यक्ति डा. बाबुराम भट्टराई भएको बताए । उनले बाबुरामपत्नी हिसिला यमी नरिवल पानी लिएर पटक–पटक आफूलाई जेलमा भेट्न पुगेको कुरा पनि त्यसक्रममा जानकारी गराए ।
नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले एकीकरण हुन लागेका जनमत र नागरिक उन्मुक्तिसँग आफूहरूको विगतदेखि नै छलफल भइरहेको बताए ।
‘अस्ति त मानुषीजीले शुभकामना मात्र दिनुभएको हो, त्यसअघि बाबुरामजी र रेशमजीबीच पटक–पटक छलफल भइसकेको छ,’ शर्माले लोकान्तरसँग भने, ‘नागरिक र जनमतबीच शुरू भएको एकीकरण प्रक्रियालाई हामीले स्वागत नै गरेका छौं । उहाँहरूले पनि बाबुरामजीको नेतृत्व र दिशानिर्देश खोज्नुभएको छ । त्यसमा हामी पनि सकारात्मक नै छौं ।’
बाबुराम भट्टराईले विभिन्न वैकल्पिक शक्तिबीच एकता हुनुपर्छ भनेर नै रेशम र सीकेलाई मिलेर अगाडि बढ्न प्रोत्साहित गरेको उनले बताए ।
‘विवेकशील साझा, जनमत, नागरिक उन्मुक्तिसहित विभिन्न वैकल्पिक शक्तिबीच एकता हुनुपर्छ भनेर अहिले ती २ पार्टीको एकता प्रक्रिया अघि बढेको हो,’ उनले थपे, ‘अब हाम्रो पार्टीमा पनि एकताको विषयमा वार्ता गर्न कार्यदल गठन हुन्छ । त्यसपछि थप कुरा अघि बढ्छ ।’
तर, पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले भने एकताका विषयमा केही कुरा नभएको बताइन् ।
‘हाम्रो पार्टी पनि एकतामा जोडिने विषयमा केही कुरा भएको छैन,’ यमीले लोकान्तरसँग भनिन्, ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक सकिएपछि एकता प्रक्रियामा शुभकामना दिनका लागि बोलाउनुभएको हो, अरू केही भएको होइन ।’
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पार्टी एकताका विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग अहिलेसम्म केही छलफल नभएको बताए ।
‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईजीसँग पार्टी एकताका विषयमा मेरो व्यक्तिगत कुरा भएको छैन । उहाँले मसँग कहिल्यै त्यस्तो कुनै प्रस्ताव गर्नुभएको पनि छैन,’ डा. राउतले लोकान्तरसँग भने, ‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीजीले पनि बाबुरामजीको विषयमा मलाई केही प्रस्ताव गर्नुभएको छैन ।’
नागरिक उन्मुक्ति र जनमतबीच एकीकरण गर्ने विषयमा दुवै पार्टी सकारात्मक रहेको तथा धेरै विषयवस्तु अघि बढेको उनले खुलाए ।
‘रेशमजी एकीकृत पार्टीको संरक्षक रहने, म अध्यक्ष रहने तथा माननीय रञ्जिताजी सह–अध्यक्ष रहने गरी दुई पार्टीबीच एकता हुने विषयमा लगभग सहमति भइसकेको हो,’ राउतले लोकान्तरसँग भने, ‘अहिले दुवै पार्टीको कार्यदलमा समेत छलफल शुरू भएको छ । दुवै पार्टीको केन्द्रीय कमिटी बैठकबाट एकताको विषय अनुमोदन भएपछि एकताले मूर्त रूप लिन्छ ।’
वैशाखको अन्त्यतिर पार्टी एकता घोषणा हुन सक्ने उनले खुलाए ।
मधेशी र थारू समुदाय पहिले नै एकीकृत हुनुपर्नेमा राज्यले विभाजित गरेर छुट्टाछुट्टै क्लस्टर बनाएको उनको आरोप छ । मधेशी र थारू समुदाय एक रहेको सन्देश दिन पनि पार्टी एकताको अवस्थामा आइपुगेको राउतले बताए ।
जनमत पार्टीका प्रवक्ता तथा कार्यदल सदस्य डा. शरदसिंह यादवले दुवै पार्टीको नाम जोडेर नागरिक जनमत राख्ने तथा नागरिक उन्मुक्तिको चुनाव चिह्न ढकिया राख्ने विषयमा लगभग सहमति भएको बताए ।
बाबुराम भट्टराईको पार्टीसँग एकताको विषयमा भने कुनै छलफल नभएको उनको भनाइ छ ।
‘रेशमजीलाई जेलबाट उपचारका लागि अस्पतालमा ल्याउँदा हत्कडी र नेल लगाएको अवस्थामा भट्टराईजी अस्पतालमै पुगेर हत्कडी तथा नेल खुलाउन लगाउनुभएको थियो,’ यादवले थपे, ‘त्यही भएर रेशमजी बाबुरामजीप्रति अलि बढी इमोसनल हुनुहुन्छ । तर, पार्टी नै एकता गर्ने विषयमा उहाँबाट पनि हामीसमक्ष कुनै प्रस्ताव आइसकेको छैन ।’