
भारतीय सेनाका नेत्र शल्य चिकित्सकको समूहले सुनसरीको धरानका १७ सर्वसाधारणसहित २९ जना दृष्टिविहीन नेपाली नागरिकको उपचार गरेको छ ।
उक्त चिकित्सक टोलीले दिल्लीबाट लखनउ हुँदै बागडोगरा पुगेर आँखा शिविर सञ्चालन गरेको थियो । पूर्वी कमान्ड अन्तर्गतको त्रिशक्ति कोर्प्सको मातहतमा रहेको बागडोगरा विमानस्थल नजिकै अवस्थित १५८ बेस अस्पतालमा आयोजित चार दिने आँखा शिविर आयोजना गरिएको हो ।
उक्त शिविरमा ५ 'इन्भेसिभ ग्लूकोमा' अपरेसनसहित अन्य ३५४ शल्यक्रियाहरू सम्पन्न गरिएको थियो ।
भारतीय सेनाको अनुसन्धान तथा रेफरल (आरआर) अस्पताल नयाँ दिल्लीका ब्रिगेडियर सञ्जय मिश्राले भने, 'हामीले १७ सय भन्दा बढी बिरामीको परीक्षण गर्यौंश र तीमध्ये २० प्रतिशतभन्दा बढी बिरामीले मोतियाबिन्दु, ग्लूकोमा लगायत विभिन्न समस्याका लागि शल्यक्रिया गराए ।'
भारतीय सेनाका अर्का नेत्र विशेषज्ञले छिमेकी देश नेपालसँग मैत्रीपूर्ण सम्बन्ध बढाउने प्रयासका रूपमा बागडोगराबाट १०० किलोमिटरभन्दा टाढाबाट ल्याइएका कम्तीमा २९ जना नेपाली नागरिकको दृष्टि पुनःस्थापना गरिएको बताए ।
शिविरमा बिहार, पश्चिम बंगाल, सिक्किम र नेपालका बिरामी आएका थिए । भारतीय सेनाका अनुसार ९७ वर्षीय बिरामी लुकास टोप्पोको दृष्टि पनि पुनःस्थापना गरिएको थियो ।
नेत्र विशेषज्ञ टोलीमा लेफ्टिनेन्ट कर्नेल रवि चौहान, लेफ्टिनेन्ट कर्नेल ईशान अग्रवाल, मेजर अमृता जोशी, मेजर रोल्ली खुराना र सात निवासी चिकित्सकसमेत सामेल थिए ।
लेफ्टिनेन्ट जनरल रामचन्द्र तिवारी, पिभिएसएम, यूवाईएसएम, एभिएसएम, एसएम, पूर्वीकमान्डका जनरल अफिसर कमाण्डिङ-इन-चिफले टोलीको प्रयासको प्रशंसा गरे ।
टोलीले गत डिसेम्बरदेखि लगातार देहरादून र जयपुरमा तीन सफल आँखा शिविर सञ्चालन गरिसकेको छ ।
पश्चिम बंगालका राज्यपाल सीभी आनन्द बोसले मार्च १० मा रक्षामन्त्री राजनाथ सिंह र थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बेङ्गडुबीमा पूर्वसैनिकका लागि आँखा शिविर आयोजना गर्न अनुरोध गरेका थिए ।
त्यस क्षेत्रमा लगभग ९६ हजार पूर्वसैनिक र तिनका आश्रित परिवार छन् ।