
रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
विशेष अदालतले २०८० साल चैत ७ गतेको फैसलाबाट मिश्रलाई सफाइ दिएको थियो ।
मिश्रले ७२ लाख ५२ हजार ४८० रुपैयाँ ५९ पैसा भ्रष्टाचार गरेको अभियोग लागेको थियो। अनुसन्धानका क्रममा उनका छोरा नविन कुमार मिश्रको बैंक खातामा शंकास्पद रूपमा ३० लाख रूपैयाँ जम्मा भएको खुलेको अख्तियारले जनाएको छ।
रसुवाको वन अधिकृत रहेका बेला रक्तचन्दन कारोबारसम्बन्धी टेण्डर प्रक्रियामा सहयोग गर्ने बहानामा उनले ७० लाख रूपैयाँ घुस लिएको प्रमाण भेटिएको अख्तियारको दाबी छ। सोही रकम मिश्रका छोराको बैंक खातामा जम्मा गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख छ।
विशेष अदालतले घर निर्माण खर्चको गणना गर्दा त्रुटि गरेको, नगद प्रवाहलाई मात्र आधार मानेर निर्णय गरेको र अन्य घुस सम्बन्धी आरोपमा सफाइ दिएको आधारमा अख्तियारले पुनरावेदन गरेको जनाएको छ।