
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको स्वामित्व पार्टीले लिन नहुने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कुलमानलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकार र पार्टीले कहिल्यै गर्न नसक्ने बताएका हुन् । यसरी कति दिन चलाउन भन्दै उनले प्रश्नसमेत गरेका छन् ।
'सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरीत वुद्धि,' उनले लेखेका छन् ।
कुलमानलाई हटाउने सरकारको निर्णयमा यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि असन्तुष्टि जनाएका थिए ।