
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र लेखा अधिकृत सुमनकुमार पुरीले स्वास्थ्य केन्द्र तथा डिप बोरिङ निर्माणका लागि ठेक्काको सूचना सार्वजनिक नगरी अनियमितता गरेको पाइएको आयोगको दाबी छ ।
सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने भए पनि जनकपुर टुडेका प्रधान सम्पादक वृजकुमार यादवसँगको मिलेमतोमा सूचना लुकाइएको पाइएको आयोगका प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक प्रति मात्र पत्रिका प्रकाशित गरी ठेक्काको प्रक्रिया अघि बढाइएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त प्रक्रियाबाट जनकपुर टुडेलाई झुट्टा विवरणका आधारमा ६ लाख ४४ हजार १०० रुपैयाँ भुक्तानी दिएको खुलेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद तथा बिगो बराबर जरिवानाको माग गरेको छ ।