
आईएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा ल्याएका छन् ।
मंगलबार काठमाडौंको धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कूलको प्राङ्गणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले उक्त स्कूलको शुभारम्भ गरेका हुन् ।
यस स्कूलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरूमा तालिम सञ्चालन गर्नेछ ।
स्कूलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरू उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आईएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ ।
आईएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।
उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए । उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कूलको औपचारिक सञ्चालनसँगै अब आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए । उनले यस स्कूलले थप हजारौं युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
'नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरूआत गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कूलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,' उनले भने।
सरकारले पनि प्राविधिक स्कूल तथा तालिम केन्द्रहरूको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए ।
उनका अनुसार स्कूलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरू उत्पादन गर्ने लक्ष्य लिएको छ ।
'हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरू उत्पादन गर्ने लक्ष्य लिएका हौं । यसका लागि यस स्कूलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ,' उनले भने ।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताए ।
'स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेश नै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरूलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,' उनले भने ।
काठमाडौं टेक्निकल स्कूल (केटीएस)का अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए ।
उनले केटीएसले युवाहरूलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए । 'यस स्कूलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरू सिर्जना गर्नेछ,' उनले भने ।
केटीएसले आफ्ना विद्यार्थीहरूलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको उनले बताए ।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।