१६ असार २०८३, मंगलबार

मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम

चैत १३, २०८१
चितवन
मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए ।

उनका अनुसार विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो । कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फूला उठ्ने यो मकै पहिलोपटक सिफारिसको तयारी गरिएको उनले बताए । उनका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ ।

त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीमा पनि यसको परीक्षण भइरहेको उनले बताए । अहिले कुन ठाउँमा कति उत्पादन दिन्छ भन्ने परीक्षण भइरहेको र ठाउँ सुहाउँदो भएपछि आगामी वर्षभित्र सिफारिस गरिने उनको भनाइ छ ।

कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमै पहिलोपटक स्थानीय जातको सिफारिस गर्ने तयारी गरिएको बताए । उनले भने, 'नेपालमा मुरली मकै अहिलेसम्म सिफारिस गरिएको छैन । यस वर्षको नतिजा आएसँगै सिफारिसको प्रक्रियामा अघि बढ्छौं ।'

अहिले नेपालमा मुरली मकैको बिउ विदेशबाट आयात हुने गरेको उनले बताए । नेपाली जातको भीमनगर लोकल मुरली मकैमा रोग सहन सक्ने क्षमता, उत्पादन धेरै हुने रिजालको भनाइ छ ।

उनका अनुसार कार्यालयले गुलियो मकै र मुरली मकैको अनुसन्धान गरिरहेको छ । आगामी वर्ष यस मकैको प्रतिवेदन बिउविजन नियन्त्रण तथा गुणस्तर केन्द्र हरिहर भवनमा प्रस्तावना पेश गर्ने गरी काम भइरहेको छ । हाल परीक्षणका क्रममा रहेका २८ जातका मकैमध्ये १० जातका मुरली मकै उत्कृष्ट रहेको छ ।

कार्यालयले नेपालभर स्थानीय रूपमा लगाइँदै आएका मुरली मकैको बिउ सङ्कलन गरी परीक्षण र अनुसन्धान शुरू गरेको हो । अहिले नेपालमा व्यावसायिक रूपमा मुरली मकै खेती गर्ने किसानले आयातित बिउको प्रयोग गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्