
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवाद सर्वोच्च अदालत पुगेको छ ।
आफूलाई हटाउने निर्णय बदरको मागसहित कुलमान घिसिङले बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् ।
त्योभन्दा पहिला नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि निवेदन लिएर सर्वोच्च पुगेका थिए ।
सर्वोच्च अदालतमा ४ वर्ष पुरानो मुद्दा पहिला टुंगो लगाउन माग गर्दै हितेन्द्रले रिट निवेदन दिएका हुन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको बारे संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेको छ । सरकारको जवाफ माग्दै विपक्षी दलले संसद् अवरुद्ध गरेका छन् । जसका कारण बुधबार संसद चलेन ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताए ।
००००
नेपाल विद्युत् प्राधिकरणको अवस्थाबारे श्वेतपत्र जारी गरिने भएको छ । मंगलबार राति बसेको सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।
१० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्यअनुसार विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुला गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको सञ्चालक समिति सदस्य रतन ऐरले जानकारी दिए ।
००००
महाधिवेशनका लागि आधारस्तम्भको रूपमा रहेको क्रियाशील सदस्यता नवीकरणमा नेपाली कांग्रेसभित्र अपेक्षित प्रगति देखिएको छैन ।
महाधिवेशन गर्नुअघि चैतभित्रै झण्डै ९ लाख क्रियाशील सदस्यको सदस्यता नवीकरण टुंग्याउने गरी केन्द्रले जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।
गुटगत विवाद, अनुशासनको कारवाही र जिम्मेवार नेताको बेवास्ताका कारण पछिल्लो भाकामा पनि सदस्यता टुंगो लाग्ने स्थिति नदेखिएको हो ।
यसअघि कांग्रेसले महाधिवेशनको वर्ष मात्रै नवीकरणमा काम गर्ने गरेको थियो, जसले विवाद पनि निम्त्याउँथ्यो । तर, यसपटकदेखि प्रत्येक वर्ष नवीकरण गर्ने कार्यक्रम ल्याएको छ ।
००००
म्यानमार लगेर अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको उद्धार गरिएको छ ।
नेपाली राजदूतावास थाइल्याण्डले त्यहाँको सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उनीहरूलाई उद्धार गरेको हो ।
००००
अनलाइन जुवा र क्रिप्टोकरेन्सीमा कारोबारमा संलग्न ११ भारतीय काठमाडौंबाट पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका(३, देउला टोलमा घर भाडामा लिएर अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन सट्टाबाजी तथा ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
००००
समाजवादी मोर्चाले शुक्रबार राजधानीको भृकुटीमण्डपमा वृहद जनप्रदर्शन गर्ने भएको छ। मोर्चाले राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तथा सामाजिक न्यायका विषयमा विभिन्न नारासहित प्रदर्शनको तयारी गरेको हो । जुन नारा बिहीबार बसेको मोर्चाको बैठकले तय गरेको नेता महिन्द्र राय यादवले जानकारी दिए ।
००००
अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा पत्राचार गर्ने निर्णय गरेको छ।
दुई दिनसम्म चलेको एन्फाको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय फूटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका थापाविरुद्ध अख्तियारलगायतका निकायमा पत्राचार गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको हो ।
००००
देशका सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आवासको दोहोरो सुविधा उपयोग गरेर आर्थिक अनुशासन विपरीतको काम गरेको भन्दै अधिवक्ता चन्द्रप्रसाद भुसालले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
००००
सत्तारुढ दलबीच भूमिसम्बन्धी अध्यादेशको रिजर्भेसनलाई सम्बोधन गर्दै नयाँ विधेयकको प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमा आएका विषयलाई अब नयाँ विधेयकका रूपमा अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
००००
सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । ११ पुरुष र ५ महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । आगलागी बुधबार नै नियन्त्रणमा आएको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा चियापान कार्यक्रम राखेका छन् ।
बुधबार बिहान ८ देखि साढे १० बजेसम्म देउवाले नगरपालिकाका मेयर र उपमेयरको लागि चियापान कार्यक्रम राखेका हुन् ।