
संघीय राजधानी काठमाडौंमा नै सुन तस्करीका लागि लगिँदै गरेको २५ करोडभन्दा बढी रकम बरामद भएको विषयमा मुख्य मालिक पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिइएको छ ।
राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न मुख्य योजनाकारसहितका विभिन्न जालोहरू पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिएको हो । २५ करोड नगदसँगै पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामाले प्रयोग गर्ने गरेका दुईवटा मोबाइलको कल डिटेल्सबाट धेरै तथ्यहरू फेला पार्न सकिएको विभागका अनुसन्धान अधिकारीहरूले बताएका छन् । विभागका अधिकारीहरूले लामासँग लागातार बयान लिँदै आइरहेका छन् ।
तर, बयानका क्रममा लामाले सधंैजसो नै थाहा छैन भन्ने गरेपछि विभागले लामाले प्रयोग गर्दै आइरहेको दुईवटा मोबाइलको कल डिटेल्स पत्ता लगाउन फरेन्सिक ल्याबमा पठाएको थियो । फरेन्सिकबाट कल डिटेल्स प्राप्त भएकाले २५ करोड तस्करीका धेरै क्लुहरू पत्ता लागिसकेको अनुसन्धान अधिकारीहरूको दाबी छ । नेपाल समाचारपत्रमा खबर छ ।